२०८३ कात्तिक २० , शुक्रबार

मिलरले देखाए दम, अन्य ब्याटरले साथ नदिँदा कर्णाली पराजित



काठमाडौं । दक्षिण अफ्रिकी स्टार ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) मा डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले अविजित ९३ रन बनाए पनि कर्णाली याक्सलाई जित दिलाउन सकेनन्।

शुक्रबार भएको खेलमा कर्णाली सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो। कर्णालीका लागि मिलरले ५५ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै अविजित ९३ रन बनाए।

उनलाई विकेटकिपर ब्याटर दीपक डुम्रेले केही साथ दिए। डुम्रेले १२ बलमा ३ चौका र एक छक्काको मद्दतमा १८ रन जोडे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमका बलर स्कट कुगेलेइनले दुई विकेट लिए। यस्तै हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र अविनाश बोहराले समान एक विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि ओपनर सैफ जैबले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलमा ४ चौका र एक छक्का प्रहार गरे। विनोद भण्डारीले २२ बलमा २ चौका र २ छक्कासहित २७ रन जोडे। जैब र भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए। तर, आठौँ ओभरमा भण्डारी र नवौँ ओभरमा जैब आउट भएपछि सुदूरपश्चिमले नियमित अन्तरालमा विकेट गुमाएको थियो।

त्यसपछि ब्रान्डन म्याकमुलेनले १६ बलमा २४ तथा इशान पाण्डेले १३ बलमा २३ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले १० र आरिफ शेखले ११ रनको योगदान दिए। अन्तिमतिर थरिन्दु रत्नायकेले आक्रामक ब्याटिङ गर्दै १२ बलमा ३ चौका र एक छक्कासहित अविजित २२ रन बनाए। स्कट कुगेलेइनले ६ बलमा २ चौकाको मद्दतमा अविजित १३ रन जोडे। सुदूरपश्चिमले अन्तिम पाँच ओभरमा ५७ रन थपेको थियो।

कर्णालीका लागि मार्क वाटले दुई विकेट लिँदा नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले समान एक विकेट लिए। यस जितसँगै पाँच खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम रोयल्स अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चार खेल खेलेको कर्णाली याक्स भने लगातार दोस्रो हारपछि ४ अंकसहित पाँचौँ स्थानमा झरेको छ।

डेब्यु खेलमै शतक नजिक पुगेका मिलरको व्यक्तिगत प्रदर्शन उत्कृष्ट रहे पनि अन्य ब्याटरको कमजोर प्रदर्शनका कारण कर्णालीले सुदूरपश्चिमविरुद्ध जित निकाल्न सकेन।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार