२०८३ कात्तिक २० , शुक्रबार

राष्ट्रपति पौडेलसँग सभामुख अर्यालले गरे भेट, के भयो कुराकानी ?



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच भेटवार्ता भएको छ । शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा संसद्को अधिवेशन आह्वान, संसद् सञ्चालन तथा अन्तर्राष्ट्रिय सम्मेलनलगायतका विषयमा छलफल भएको हो ।

भेटका क्रममा सभामुख अर्यालले संघीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका संघ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि सभामुख अर्यालले जानकारी गराएका थिए ।

भेटमा संसद्को अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो । सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलका क्रममा संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी गराएका थिए ।

यसैगरी, सातवटै प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेशसभा पदाधिकारीसहित राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाबारे पनि अर्यालले जानकारी गराएका थिए ।

भेटका क्रममा राष्ट्रपति पौडेलले संसद्मा धेरैभन्दा धेरै बहस र छलफल हुनुले लोकतन्त्रलाई बलियो बनाउने बताएका थिए । संसद्मा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले सरकारका कामकारबाहीबारे समेत चासो राखेका थिए । भेटमा अन्य समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार