नेपाली साहित्यिक संस्था ‘नेपाली कलासाहित्य डट कम प्रतिष्ठान’ तथा भारतको ‘पूर्वोत्तर हिन्दी साहित्य अकादमी’ बीच साहित्यिक सहकार्यको सम्झौता भएको छ।
भारतीय प्रान्त असमको तेजपुरस्थित गोर्खा भवनमा भएको एक विशेष कार्यक्रममा यस आशयको सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
नेपाली कलासाहित्य डटकम प्रतिष्ठानका अध्यक्ष मोमिला जोशी तथा पूर्वोत्तर हिन्दी साहित्य अकादमीका अध्यक्ष रीता सिंहले हस्ताक्षर गरेकाे उक्त सम्झौता अनुसार प्रतिष्ठानले पूर्वोत्तर भारतका ५० प्रतिनिधि हिन्दी कवितालाई नेपालीमा अनुवाद गरी नेपालमा प्रकाशित तथा वितरण गर्ने छ।
यसैगरी अकादमीले ५० प्रतिनिधि नेपाली कवितालाई हिन्दी भाषामा रूपान्तरित गरी भारतमा प्रकाशन तथा वितरण गर्ने छ। कवितासम्बन्धी यो पहिलो सहकार्य भएपछि अन्य विधामा पनि समान प्रकृतिका सहकार्य गर्दै लाने पनि सम्झौतामा उल्लेख छ।
सम्झौता समारोहमा प्रतिष्ठानका उपाध्यक्ष राजेश्वर कार्की, विशिष्ट सदस्य डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’, महेश पौड्याल, अकादमीका कल्पना आत्रेय, डा. गोमादेवी शर्मा, कमल सेडाईं लगायतको उपस्थिति थियो।
कार्यक्रममा कविहरूले आफ्नाे कविता वाचन गरेका थिए। यसै कार्यक्रममा डा. गोमा देवी शर्मा र डा.सीताराम अधिकारीले सम्पादन गरेकाेपूर्वोत्तर भारतका विभिन्न प्रान्तहरूका लोककथाहरूको सङ्कलन ‘ईशान आलोक’ पनि लाेकार्पण गरिएको थियो।
यसअघि पूर्वोत्तर भारतको भ्रमणमा रहेको नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको प्रतिनिधि मण्डलले वरिष्ठ साहित्यकार पद्मश्री लीलबहादुर क्षत्रीलाई गुवाहाटीस्थित उनकै निवासमा पुगी कलासाहित्य यात्रा सम्मन २०८१ समर्पण गरेको थियो।
गान्धी जयन्तीको अवसर पारेर इन्द्रेणी प्रकाशनले तेजपुरमा आयोजना गरेको विशेष कवि गोष्ठी तथा कृति लोकार्पण कार्यक्रममा पनि नेपाली प्रतिनिधिहरूले रचना पाठ गरेका थिए।
असमतर्फबाट प्रकाशनका प्रमुख रुद्र बराल, समालोचक ज्ञानबहादुर क्षत्री, अविकेशर शर्मा, प्राडा खगेन शर्मा, डा. गोमादेवी शर्मा आदिले विशेष मन्तव्य राखेका थिए। डा. देवेन सापकोटा, पुरुषोत्तम उपाध्याय दाहाल, लक्ष्मण प्रधान, मित्रदेव शर्मा, डा. दैवकी तिम्सिना, नमिता शर्मा, पवन शर्मा लगायतका कविहरूले कविता पाठ गरेका थिए।
कार्यक्रममा लक्ष्मण प्रधानको कवितासङ्ग्रह ‘एकैछिन पर्ख त जुनेली’, अविकेशर शर्माको समालोचना ग्रन्थ ‘प्रगतिवादस् कला र साहित्य’ तथा अविकेशर शर्मा, रुद्र बराल तथा भक्तप्रसाद गौतमको ‘भारतेली नेपाली प्रगतिवादी साहित्य’ को लोकार्पण पनि गरिएको थियो।








