काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित सर्वोच्च अदालतमा दायर गरेको रिटमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ ।
कार्कीले बिहीबार आफ्ना कानुन व्यवसायीमार्फत सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । उक्त रिटमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । यसअघि बिहीबार सर्वोच्च अदालत प्रशासनले निवेदन अध्ययनकै क्रममा रहेकाले दर्ता हुन नसकेको जानकारी दिएको थियो । त्यसपछि कार्कीको रिट दर्ता भएसँगै सुनुवाइका लागि पेशी तोकिएको हो ।
सरकारले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । तर, उनले मन्त्रिपरिषद्को निर्णयसम्बन्धी पत्र भने बुझेका छैनन् । आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित कार्कीले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन् । अब उनको रिटमाथि कात्तिक ३० गते सर्वोच्च अदालतमा सुनुवाइ हुनेछ ।








