क्लबबाहिर निर्घात कुटपिट गरी फरार रहेका दुई प्रतिवादी पक्राउ

कुटपिट अङ्गभङ्ग सम्बन्धी कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-४ घर भई ललितपुर इमाडोल बस्ने २६ वर्षीय मिलन तामाङ र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-७ भक्तपुर सल्लाघारी बस्ने २८ वर्षीय विजय लामा रहेका छन्।

उनीहरूले काठमाडौंकाे कोटेश्वरस्थित केएलसी क्लब अगाडि २०८० फागुन १७ गते एक जना पुरुषलाई अङ्गभङ्ग हुने गरी कुटपिट गरी घटना पश्चात् फरार रहेका थिए।

ललितपुरका विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त नयाँ बानेश्वेर पठाइएको प्रहरीले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *