२०८३ कात्तिक ३० , सोमबार

१० करोडभन्दा बढी खर्चेर मुगुम कार्मारोङमा अस्पताल निर्माण, बिरामी पुग्ने सडक छैन



सुर्खेत। मुगुको दुर्गम मुगुम कार्मारोङ गाउँपालिका–६ रिउस बगरमा करोडौँ रुपैयाँ खर्चेर १० शय्याको आधारभूत अस्पताल निर्माण गरिएको छ। तर, अस्पतालसम्म पुग्ने मोटरबाटो नहुँदा स्थानीय नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन्।

संघीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ अवधारणाअन्तर्गत निर्माण गरिएको उक्त अस्पताल कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले उद्घाटन गर्नुभएको हो। अस्पताल निर्माणमा १० करोड २४ लाख ९३ हजार १६० रुपैयाँ खर्च भएको छ। हाल एक चिकित्सकसहित आठ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन्। तर, अस्पताल सञ्चालनका लागि आवश्यक स्थायी दरबन्दी र दक्ष जनशक्तिको व्यवस्थापन अझै चुनौतीपूर्ण छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १५ मंसिर २०७७ मा भर्चुअल माध्यमबाट अस्पतालको शिलान्यास गर्नुभएको थियो। १७ वैशाख २०७८ मा भौतिक रूपमा निर्माणको शिलान्यास गरिएको अस्पताल ३० असार २०८० भित्र सम्पन्न गर्ने सम्झौता थियो। तर, डीपीआर, यातायातको असुविधा र निर्माण सामग्री ढुवानीमा देखिएको समस्याका कारण निर्धारित समयभन्दा दुई वर्षभन्दा बढी ढिलो निर्माण सम्पन्न भएको हो।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको मुगुम कार्मारोङ गाउँपालिकाका नौवटै वडामा अहिलेसम्म मोटरबाटो पुगेको छैन। एउटा गाउँबाट अर्को गाउँ पुग्न घण्टौँदेखि दुई दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता छ।

सडकको अभावमा औषधि, स्वास्थ्य उपकरण र दैनिक उपभोग्य सामग्रीसमेत मानिस तथा खच्चडमार्फत ढुवानी गर्नुपर्ने अवस्था छ। बिरामीलाई अस्पताल पु¥याउनसमेत स्थानीयले लामो पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बलिराज बुढाका अनुसार कतिपय बस्तीबाट रिउसस्थित अस्पताल पुग्न एकदेखि दुई दिनसम्म लाग्ने भएकाले सामान्य स्वास्थ्य समस्या हुँदा पनि तत्काल उपचार पाउन कठिन छ।

गाउँपालिकाको केन्द्रसम्म सडक पु¥याउने उद्देश्यले निर्माण अघि बढाइएको गमगढी–नाक्चेनाग्ला सडकले पनि अपेक्षित गति लिन सकेको छैन। आर्थिक वर्ष २०६२÷६३ मा सर्वेक्षण सुरु भएको र आर्थिक वर्ष २०७२÷७३ बाट निर्माण अघि बढाइएको ९३ किलोमिटर लामो सडकमा हालसम्म करिब १८.५ किलोमिटर मात्रै ट्र्याक खोलिएको छ।

बजेटको निरन्तरता नहुनु, कडा चट्टानी भूगोल र सरकारी प्राथमिकताको अभावले सडक निर्माण प्रभावित हुँदै आएको छ। भौतिक पूर्वाधारको अभावसँगै परम्परागत सामाजिक तथा सांस्कृतिक मान्यताले पनि यहाँको स्वास्थ्य सेवामा चुनौती थपेको छ। कतिपय स्थानीय बिरामी हुँदा अस्पताल जानुको सट्टा धामीझाँक्री र लामाको भर पर्ने गरेका छन्। रोग जटिल बनेपछि मात्रै स्वास्थ्य संस्थामा पुग्ने प्रवृत्ति पनि रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

स्वास्थ्य शाखा संयोजक बुढाका अनुसार स्वास्थ्य सचेतनाको कमी, सामाजिक तथा धार्मिक मान्यता र स्वास्थ्यकर्मीसँग आफ्ना समस्या खुलस्त राख्न नसक्ने प्रवृत्तिका कारण नागरिक समयमै उपचारबाट वञ्चित हुने गरेका छन्।

स्वास्थ्य सचेतना बढाउन बुढाले गाउँगाउँ पुगेर स्वास्थ्य परीक्षण, औषधि वितरण, उच्च रक्तचाप परीक्षण, दन्त सेवा तथा नसर्ने रोगको पहिचान र परामर्श अभियान सञ्चालन गर्दै आउनुभएको छ। अभियानका क्रममा म्याद गुज्रिएका औषधि सेवन गर्ने, चिकित्सकले दिएको औषधि पूरा मात्रा नखाने र आफैँ औषधि किनेर प्रयोग गर्ने समस्या पनि भेटिने गरेको उहाँले बताउनुभयो।

एउटा गाउँमा क्षयरोगको औषधि सेवन गर्नुपर्ने महिला अर्कै औषधि खाइरहेको अवस्थामा भेटिएपछि स्वास्थ्य परीक्षण र परामर्शमार्फत उपचार प्रक्रियामा ल्याइएको थियो। अर्को गाउँमा छारे रोगका बिरामीले म्याद गुज्रिएको औषधि सेवन गरिरहेको पनि फेला परेको थियो।

मुगुम कार्मारोङ गाउँपालिकामा एउटा आधारभूत अस्पतालसहित १४ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन्। तर, पर्याप्त स्वास्थ्यकर्मी, दक्ष जनशक्ति, औषधि तथा भौतिक पहुँचको अभावले स्वास्थ्य सेवा प्रभावकारी बनाउन कठिन भइरहेको छ। विशेषगरी आकस्मिक बिरामी, गर्भवती महिला, बालबालिका र दीर्घरोगीलाई समयमै स्वास्थ्य संस्थासम्म पु¥याउन नसक्दा जोखिम बढ्ने गरेको छ।

अस्पताल भवन उद्घाटन गर्दै मुख्यमन्त्री मंगलबहादुर शाहीले अस्पताललाई आवश्यक जनशक्ति र उपकरणयुक्त बनाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले स्वास्थ्य सेवा प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो।

स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल भवन निर्माणसँगै सडक, दक्ष स्वास्थ्यकर्मी, औषधि र आवश्यक उपकरणको व्यवस्था गर्नुपर्ने देखिन्छ। करोडौँ रुपैयाँ खर्चेर अस्पताल निर्माण हुनु सकारात्मक भए पनि बिरामी नै सहज रूपमा पुग्न नसक्ने अवस्था रहँदा पूर्वाधार निर्माणको वास्तविक उपलब्धिमाथि प्रश्न उठेको छ।

प्रकाशित मिति : २०८३ कात्तिक ३० गते सोमबार