२०८३ मंसिर १ , मंगलबार
फ्रन्ट पेज

वर्षौंदेखि जीर्ण जाजरकोट दरबार पुनर्निर्माण हुने



सुर्खेत । जाजरकोटको सदरमुकाम खलङ्गामा रहेका ऐतिहासिक सेतो र रातो दरबार पुनर्निर्माण हुने भएका छन् । २०८० कात्तिक १७ गतेको भूकम्पबाट क्षतिग्रस्त दुवै दरबार पुनर्निर्माणका लागि सरकारले २८ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ । सेतो दरबारका लागि २० करोड र रातो दरबारका लागि आठ करोड रुपैयाँ विनियोजन भएको हो । त्यस्तै, भूकम्पबाट क्षतिग्रस्त जिल्ला अदालत भवन पुनर्निर्माणका लागि थप २० करोड रुपैयाँ स्वीकृत भएको छ ।

 

प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाका अनुसार पुनर्निर्माणका लागि आवश्यक स्वीकृति प्राप्त भइसकेको छ । छठ पर्वलगत्तै ठेक्का प्रक्रिया अघि बढाउने र सम्भवतः २०८३ सालको वसन्त पञ्चमीदेखि निर्माणको काम सुरु गर्ने लक्ष्य राखिएको छ । विगतमा पटक–पटक बजेट विनियोजन भए पनि स्रोत सुनिश्चितता नहुँदा पुनर्निर्माणको प्रक्रिया अघि बढ्न सकेको थिएन । यसपटक भने बजेट स्वीकृत भएपछि निर्माणको बाटो खुलेको हो ।

बुढाका अनुसार आफू निर्वाचित भएपछि जिल्लास्थित कार्यालय, सम्बन्धित महानिर्देशकको कार्यालय, संसद् र मन्त्रालयसम्म पुनर्निर्माणका लागि निरन्तर पहल तथा ताकेता गरिएको थियो । लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउन विभिन्न निकायसँग समन्वय गरेपछि बजेट स्वीकृत भएको उनको भनाइ छ । दरबार पुनर्निर्माणको प्रक्रिया यसअघि पनि अघि बढाउन खोजिएको थियो । सहरी विकास मन्त्रालयले सेतो दरबार पुनर्निर्माणका लागि १५ करोड रुपैयाँ विनियोजन गरी विस्तृत परियोजना प्रतिवेदन तथा डिजाइन तयार गर्ने प्रक्रिया अघि बढाएको थियो । तर पुरातत्व विभागको स्वीकृति र आवश्यक समन्वयको विषयमा प्रक्रिया रोकिँदा काम अघि बढ्न सकेन । बजेट विनियोजन भए पनि स्रोत सुनिश्चितता नहुँदा पुनर्निर्माणको काम पटक–पटक अन्योलमा परेको थियो ।

यसपटक स्वीकृत २८ करोड रुपैयाँ बहुवर्षीय योजनाअन्तर्गत दुवै दरबारको पुनर्निर्माणमा खर्च हुनेछ । जिल्ला अदालत भवनका लागि छुट्याइएको २० करोडसहित तीनवटा संरचनाको पुनर्निर्माणमा कुल ४८ करोड रुपैयाँ बजेट स्वीकृत भएको छ । पुरातत्व विभागको स्वीकृति र प्राविधिक प्रक्रिया पूरा भएपछि निर्माण अघि बढ्नेछ ।
पुनर्निर्माणसँगै यी दरबारलाई ऐतिहासिक सम्पदा र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सम्भावना पनि छ । सरकारले सेतो दरबारलाई २०७५ सालमा नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको थियो ।

जाजरकोटका यी दुवै दरबार बाइसे राज्यकालीन इतिहाससँग जोडिएका महत्वपूर्ण सम्पदा हुन् । तत्कालीन जाजरकोट राज्यको शासन सञ्चालनका लागि प्रयोग भएका दरबारले त्यसबेलाको राजनीतिक, सामाजिक र सांस्कृतिक इतिहास बोकेका छन् । खलङ्गाको माथिल्लो भागमा रहेका यी संरचना तत्कालीन जाजरकोटी राजाहरूको शासन र प्रशासन सञ्चालनका केन्द्र थिए । ऐतिहासिक विवरणअनुसार रातो दरबार सेतो दरबारभन्दा पुरानो हो । स्थानीय इतिहासका अध्यक्ष जनक केसीका अनुसार राजा हरि शाहले विसं १८२५ मा रातो दरबार निर्माण गराएका थिए । त्यहाँबाट इन्द्रनारायण शाहभन्दा अघिका जाजरकोटी राजाहरूले शासन सञ्चालन गरेका थिए । यद्यपि रातो दरबारको निर्माणकालबारे विभिन्न ऐतिहासिक स्रोतमा फरक विवरण पाइन्छ ।

त्यसपछि राजा इन्द्रनारायण शाहले राज्य सञ्चालनका लागि थप भौतिक संरचनाको आवश्यकता महसुस गरी सेतो दरबार निर्माण गराएका थिए । ऐतिहासिक विवरणअनुसार विसं १८५२ मा निर्माण भएको सेतो दरबार खलङ्गा क्षेत्रको सबैभन्दा अग्लो स्थानमा बनाइएको थियो । दरबार निर्माणका क्रममा तत्कालीन राजाको आदेशमा स्थानीय नागरिकलाई श्रमदानमा परिचालन गरिएको थियो । जनतालाई श्रमदानका लागि निश्चित दिन तोकिएको इतिहास छ । सेतो दरबारबाट इन्द्रनारायण शाहपछि सात जना राजाले शासन सञ्चालन गरेका थिए । जाजरकोटका अन्तिम राजा प्रकाशविक्रम शाहले विसं २०१७ मा दरबार नेपाल सरकारलाई ६० हजार रुपैयाँमा बिक्री गरेका थिए ।

त्यसपछि यो सरकारी सम्पत्तिमा परिणत भएको थियो । सोही समयदेखि दरबारमा सरकारी कामकाज सञ्चालन हुन थालेको इतिहासका अध्येता केसी बताउँछन् । पछिल्लो समय सेतो दरबारमा जिल्ला प्रशासन कार्यालयलगायत सरकारी कार्यालय सञ्चालन हुँदै आएका थिए भने रातो दरबारमा जिल्ला समन्वय समितिको कार्यालय रहेको छ ।
सेतो दरबारले यसअघि पनि ठूला भूकम्पको क्षति बेहोरेको थियो । विसं १९९० माघ २ गतेको महाभूकम्पले दरबार पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो । त्यसपछि स्थानीयको श्रमदान तथा भक्तपुरबाट ल्याइएका नेवार समुदायका कालिगढ र प्राविधिकको सहयोगमा पुनर्निर्माण गरिएको थियो । अध्येता केसीका अनुसार त्यसअघि पाँच वा सात तलाको रहेको हुन सक्ने दरबारलाई पुनर्निर्माण गर्दा तीन तलामा सीमित गरिएको थियो । दरबारका झ्यालढोका र काठमा प्रयोग गरिएका कलात्मक आकृतिले तत्कालीन नेवारी वास्तुकलाको प्रभाव देखाउँछन् ।

विसं २०४५ मा उदयपुर केन्द्रविन्दु भएर गएको ६ दशमलव ९ म्याग्निच्युडको भूकम्पले दरबारको पश्चिमी भागमा क्षति पुर्‍याएको थियो । उक्त भागको विसं २०५१ मा पुनर्निर्माण गरिएको थियो । यसरी १९९० र २०४५ सालका भूकम्पबाट क्षति बेहोरेर पुनर्निर्माण गरिएको दरबारले २०८० को भूकम्पबाट फेरि ठूलो क्षति व्यहोर्नुपर्‍यो  । रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पले सेतो र रातो दुवै दरबारमा क्षति पुर्‍यायो । भूकम्पपछि भवन जोखिमपूर्ण बनेकाले जिल्ला प्रशासन कार्यालयलगायतका सरकारी निकायले दरबारबाट सेवा प्रवाह गर्न छाडे । कार्यालयहरु दरबार आसपासका अस्थायी संरचनामा सारिए । क्षतिग्रस्त दरबारलाई वर्षाबाट जोगाउन त्रिपालले ढाकिए पनि पुनर्निर्माणमा ढिलाइ हुँदा संरचना थप कमजोर बन्दै गए ।

यस वर्षको वर्षायाममा सेतो दरबारको उत्तरी र दक्षिणी भाग भत्किएर ढुङ्गा, माटो र काठ छरिएका छन् । भूकम्पले चर्किएका भागमा पानी पसेपछि संरचना थप जीर्ण बनेको हो । केही झ्याल र सहायक ढोकासमेत खसेका छन् । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले दरबार क्षेत्रलाई संग्रहालयका रुपमा विकास गर्नुपर्ने मागसमेत गर्दै आएको छ ।
दरबार पुनर्निर्माणको मुख्य चुनौती यसको मौलिक स्वरुप र ऐतिहासिक पहिचान जोगाउनु हो । आधुनिक भवन निर्माण गरेजस्तो गरी नयाँ संरचना बनाउनेभन्दा पुरानो वास्तुकला, झ्यालढोका, काठका कलात्मक आकृति र निर्माण शैली संरक्षण गर्नुपर्ने अध्यक्ष केसीको सुझाव छ ।

‘जाजरकोट राज्य हुँदाको यो इतिहासलाई पछिल्लो पुनर्निर्माण गरिएको संरचनाअनुसार नै पुनर्निर्माण गर्नुपर्छ । पुरानो शैलीलाई मासिन दिन हुँदैन,’ उनी भन्छन् ।सरकारले देशका एक सय पर्यटकीय गन्तव्यको सूचीमा समेत समावेश गरेको सेतो दरबार र रातो दरबारको पुनर्निर्माण गर्दा तिनको मौलिक स्वरुप, परम्परागत वास्तुकला र सांस्कृतिक पहिचानलाई यथावत् राखिने जनाइएको छ । ऐतिहासिक सम्पदाको संरक्षणसँगै यसले जाजरकोटको पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ मंसिर १ गते मंगलबार