२०८३ कात्तिक ३० , सोमबार

छठघाटमा पूजा सामग्री कुरिरहेका ६० वर्षीय वृद्ध मृत फेला, मृत्यु शंकास्पद



जनकपुरधाम । धनुषामा छठघाटमा पूजा सामग्री कुरेर बसेका एक वृद्ध शंकास्पद अवस्थामा मृत फेला परेका छन्।

शहीदनगर नगरपालिका–२ निवासी ६० वर्षीय रामजतन यादव गएराति स्थानीय छठघाटमा मृत अवस्थामा फेला परेका हुन्। उनी मतौना गाउँदेखि पूर्वतर्फ निर्माण गरिएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा एक्लै बसेर पूजा सामग्री कुरिरहेका थिए।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मृतक यादवको गालामा चोटको निशान र रगतसमेत देखिएको छ। घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरी घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको डीएसपी खनालले जानकारी दिएका छन्। यादवको मृत्यु कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। मृत्युको वास्तविक कारण भने खुल्न बाँकी छ।

प्रकाशित मिति : २०८३ कात्तिक ३० गते सोमबार