कालीकोट। कर्णाली प्रदेशको मौलिक लोकसंस्कृतिका रूपमा परिचित हुड्के नाचको रौनक पछिल्लो समय बढ्दै गएको छ।
कुनै समय लोप हुने अवस्थामा पुगेको पञ्चैबाजा र त्यससँगै प्रस्तुत गरिने हुड्के नाच अहिले सांस्कृतिक पहिचानसँगै कलाकारको आम्दानीको स्रोतसमेत बन्न थालेको छ। विवाह, व्रतबन्ध तथा विभिन्न खुसीका अवसरमा बजाइने पञ्चैबाजा र नाचिने हुड्के नाच पछिल्लो समय राजनीतिक सभा–सम्मेलनमा समेत लोकप्रिय हुन थालेको छ। यसको माग बढेसँगै हुड्के नाचका कलाकारलाई व्यस्तता र आम्दानी दुवै बढेको छ।
हुड्के कलाकार नैन दर्जीका अनुसार विवाहका कार्यक्रममा आफ्नो गाउँभन्दा बाहिर अर्को गाउँपालिकामा गएर प्रस्तुति दिँदा प्रतिव्यक्ति १० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन्। स्थानीय तहमा कार्यक्रमका लागि जाँदा चारदेखि पाँच दिनसम्म लाग्ने भएकाले खाना र खाजासहित दैनिक दुई हजार रुपैयाँसम्म ज्याला पाउने गरेको उहाँले बताउनुभयो।
रास्कोटका नयाँ दमाईंले सानै उमेरदेखि हुड्के नाच्दै आए पनि बीचमा यो परम्परा रोकिँदा अपेक्षाअनुसार विकास हुन नसकेको अनुभव सुनाउनुभयो। विशेषगरी तत्कालीन माओवादी द्वन्द्वका समयमा हुड्के नाच र पञ्चैबाजाको गतिविधि ठप्पजस्तै भएको उहाँको भनाइ छ।
अहिले भने कालीकोटसँगै दैलेख, अछाम, मुगु, बाजुरा र जुम्लासम्म हुड्के नाचको माग बढेको छ। नैन दर्जी र नयाँ दमाईंलगायत कलाकार विवाहको सिजनमा निकै व्यस्त हुने गरेका छन्।
चार जना स्वर मिलाउने कलाकार र दुई जना नाच्ने कलाकार गरी छ जनाको समूहले अन्य जिल्लामा कार्यक्रम गर्न जाँदा एक लाख रुपैयाँसम्मको सम्झौता गर्ने गरेको छ। यसले कलाकारको आर्थिक अवस्था सुधार गर्न सहयोग पु¥याउनुका साथै पुस्तौंदेखि चलिआएको मौलिक संस्कृति संरक्षणमा समेत योगदान दिएको छ।
पञ्चैबाजा र हुड्के नाचको संरक्षणका लागि स्थानीय तहले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्। रास्कोट नगरपालिकाका पूर्वप्रमुख काशीचन्द्र बरालका अनुसार पञ्चैबाजा संरक्षणका लागि समिति गठन गरी बजेटसमेत उपलब्ध गराउने गरिएको छ। उक्त समितिमा पञ्चैबाजा बजाउने र हुड्के नाच प्रस्तुत गर्ने कलाकारहरू नै सहभागी हुने गरेका छन्।
सेतो दौरा लगाएर पञ्चैबाजाको तालमा प्रस्तुत गरिने हुड्के नाच मनोरञ्जनको माध्यम मात्र नभई कर्णालीको मौलिक इतिहास, पहिचान र सामाजिक सन्देश बोकेको सांस्कृतिक सम्पदा पनि हो। लोप हुने अवस्थामा पुगेको हुड्के नाचले पुनः लोकप्रियता हासिल गर्न थालेपछि कलाकार र स्थानीय समुदायमा उत्साह थपिएको छ। यसलाई व्यावसायिक अवसरसँगै सांस्कृतिक सम्पदाका रूपमा संरक्षण र प्रवद्र्धन गर्नुपर्ने आवश्यकता देखिएको छ।








