२०८३ कात्तिक ३० , सोमबार

बालेनको भारत भ्रमणअघि नेपाललाई भारतको ‘सरप्राइज’, जनकपुर–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने



काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को आसन्न भारत भ्रमणअघि भारतले नेपाललाई महत्त्वपूर्ण उपहार दिएको छ। भारत सरकारले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न अनुमति दिएको छ।

रामायण परम्परासँग जोडिएका दुई ऐतिहासिक तथा धार्मिक स्थललाई रेलमार्गबाट जोड्ने उद्देश्यले भारतको रेल मन्त्रालयले नयाँ रेल सेवा सञ्चालनको स्वीकृति दिएको हो। यससँगै माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्याबीच सिधा रेल सम्पर्क स्थापित हुने भएको छ।

भारतीय रेल मन्त्रालयका अनुसार प्रस्तावित रेल सेवाले जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म करिब ६०४ किलोमिटर दूरी तय गर्नेछ। रेलले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर तथा बस्ती हुँदै यात्रा गर्नेछ।

प्रस्तावित रेल सेवाको उद्घाटन आगामी ७ मंसिरमा प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट भिडियो कन्फरेन्समार्फत संयुक्त रूपमा गर्ने तयारी छ। यद्यपि, दुवै देशका अधिकारीले औपचारिक रूपमा कार्यक्रमको घोषणा गरिसकेका छैनन्।

प्रधानमन्त्री शाहले मंसिर पहिलो साता भारत भ्रमण गर्ने तयारी गरिरहेका बेला रेल सेवा सञ्चालनको अनुमति आउनुलाई भारतको सकारात्मक संकेतका रूपमा हेरिएको छ। यसअघि भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शाहसँग जनकपुर–अयोध्या रेल सेवाबारे छलफल गर्नुभएको थियो।

भारतीय रेल मन्त्रालयका अनुसार जनकपुरधाम र अयोध्या क्यान्टलाई अन्तिम गन्तव्य बनाएर रेल सञ्चालन हुनेछ। रेलले जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धामलगायत स्टेसनमा व्यावसायिक प्रयोजनका लागि रोकिनेछ।

प्रारम्भिक व्यवस्थाअनुसार जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्नेछ। सातामा एकपटक सञ्चालन हुने उक्त रेल सेवाले धार्मिक पर्यटक तथा दुवै देशबीच आवतजावत गर्ने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ।

रेल सेवा सञ्चालन भएपछि जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटन प्रवद्र्धन हुनुका साथै व्यापार, व्यवसाय, शिक्षा र पारिवारिक सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ। यसबाट रेलमार्ग आसपासका होटल, पर्यटन व्यवसायी, स्थानीय व्यापारी तथा हस्तकला व्यवसायमा संलग्न समुदायले पनि लाभ लिन सक्नेछन्।

प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमणलाई परिणाममुखी बनाउन सरकारले विभिन्न एजेण्डामा गृहकार्य गरिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालयलगायत निकायबीच समन्वय गरेर भ्रमणको कार्यसूची तयार पार्ने काम भइरहेको छ।

भ्रमणका क्रममा व्यापार तथा वाणिज्य, विकास साझेदारी, जलविद्युत्, भौतिक पूर्वाधार, सीमा व्यवस्थापन, ऊर्जा र जनस्तरको सम्बन्ध विस्तारका विषयमा छलफल हुने सम्भावना छ।

त्यसैगरी स्टार्टअप, डिजिटल कनेक्टिभिटी, कृत्रिम बौद्धिकता (एआई) र खेलकुद क्षेत्रमा समेत सहकार्य विस्तार गर्ने विषयलाई नेपालले प्राथमिकतामा राखेको छ। नेपालले भारतसँग दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता माग गर्ने तयारी गरेको स्रोतले जनाएको छ। जसमा एक अर्ब डलर अनुदान र एक अर्ब डलर सहुलियतपूर्ण ऋण समावेश रहेको बताइएको छ।

यसका अतिरिक्त बुटवल–पोखरा द्रुतमार्ग निर्माण, नयाँ हवाई सम्पर्क विस्तार, नेपाल–भारत वाणिज्य सन्धि पुनरावलोकन, तेस्रो मुलुकसँगको व्यापारका लागि थप भारतीय बन्दरगाह प्रयोग गर्ने सुविधा तथा पेट्रोलियम र ग्यास पाइपलाइन निर्माणका प्रस्ताव पनि अघि सार्ने तयारी छ।

नेपालले भारतका प्रतिष्ठित शैक्षिक संस्थाका शाखा स्थापना, एआई क्षेत्रमा सहकार्य तथा जनकपुर–बर्दिबास हुँदै निजगढ र रक्सौल–वीरगञ्ज–पथलैया हुँदै निजगढसम्म रेलमार्ग निर्माणको प्रस्तावसमेत अघि बढाएको छ।

प्रधानमन्त्री बालेनको भारत भ्रमणबाट यी प्रस्तावमा कस्तो सहमति जुट्छ भन्ने चासो बढिरहेका बेला जनकपुर–अयोध्या रेल सेवाको स्वीकृतिले दुई देशबीचको धार्मिक, सांस्कृतिक र भौतिक सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक ३० गते सोमबार