२०८३ मंसिर १ , मंगलबार
सम्पादकीय

सडकले बदल्दै कर्णालीवासीको जीवन



कर्णालीको विकासको चर्चा गर्दा सडक पूर्वाधारलाई अलग राख्न सकिँदैन । कुनै समय बिरामीलाई डोकोमा बोकेर अस्पताल लैजाँदा बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यता थियो । अहिले गाउँसम्म सडक पुगेपछि त्यही समुदायका नागरिक गाडी चढेर उपचारका लागि अस्पताल पुग्न थालेका छन् । हुम्लाको चंखेलीकी पूर्णकली नेपालीले सडक अभावमा ज्यान गुमाएको घटना र उनका नातिले सडककै कारण समयमै उपचार पाएर जीवन पाएको प्रसंगले पूर्वाधारको महत्व कति हुन्छ भन्ने देखाउँछ । संघीयता कार्यान्वयनपछि कर्णालीमा सडक विस्तारले गति लिएको छ । प्रदेश सरकार गठन भएयता तीन हजार चार सय किलोमिटरभन्दा बढी नयाँ सडकको ट्रयाक खोलिएको छ भने ३४५.७ किलोमिटर सडक कालोपत्रे भएको छ । स्थानीय तहलाई सडक सञ्जालले जोड्ने कामले नागरिकको आवागमन सहज बनाएको छ । सडक पुगेपछि कृषि उपज बजारसम्म पुर्‍याउन, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री गाउँसम्म ल्याउन र स्वास्थ्य, शिक्षा तथा अन्य सेवामा पहुँच बढाउन सहयोग पुगेको छ ।

सल्यानबाट वीरेन्द्रनगर पुग्न पहिले करिब ३४० किलोमिटर घुम्नुपर्नेमा अहिले छोटो मार्गबाट करिब १०६ किलोमिटरमै पुग्न सकिने अवस्था बनेको छ । रुकुम पश्चिम, कालिकोट र हुम्लाका किसानले पनि सडक पहुँचपछि उत्पादन बिक्री गर्न सहज भएको अनुभव सुनाएका छन् । यी परिवर्तन सडक निर्माणको प्रत्यक्ष उपलब्धि हुन् । तर सडकको लम्बाइ बढ्नु मात्रै विकासको पर्याप्त मापदण्ड होइन । कर्णालीमा अधिकांश सडक अझै कच्ची छन् । निर्माण भएका सडकको नियमित मर्मत, सुरक्षित यातायात र वातावरणीय पक्षमा ध्यान दिन आवश्यक छ । कतिपय आयोजना समयमै सम्पन्न नहुँदा लागत र नागरिकको सास्ती दुवै बढ्ने गरेका छन् । त्यसैले बजेट विनियोजनसँगै गुणस्तर, अनुगमन र जवाफदेहितालाई प्राथमिकता दिनुपर्छ ।

सडक पुगेका गाउँमा उत्पादन बढाउने, कृषि उपजको गुणस्तर सुधार्ने, भण्डारण र बजारको व्यवस्था गर्ने काम पनि सँगसँगै अघि बढ्नुपर्छ । सडकले बजारसम्म पुर्‍याएको उत्पादनले उचित मूल्य पाएन भने त्यसको आर्थिक लाभ सीमित हुन्छ । कृषि, उद्योग, पर्यटन र जलविद्युत्मा लगानी विस्तार गरेर सडकलाई रोजगारी र आम्दानीसँग जोड्नुपर्छ । यसमा तीनै तहका सरकारबीच स्पष्ट जिम्मेवारी, योजनाको दोहोरोपन हटाउने समन्वय र स्थानीय आवश्यकतामा आधारित प्राथमिकता पनि उत्तिकै जरुरी छन् । यसको प्रभावकारी कार्यान्वयन हुनुपर्छ । कर्णालीले सडक विस्तारमा गरेको प्रगति संघीयताको महत्वपूर्ण उपलब्धि हो । अबको प्राथमिकता नयाँ ट्रयाक खोल्ने मात्र नभई बनेका सडकलाई दिगो, सुरक्षित र उत्पादनमुखी बनाउने हुनुपर्छ । सडकले गाउँलाई सहरसँग जोडेको छ । अब त्यसले गाउँको उत्पादन, अवसर र समृद्धिलाई पनि जोड्न सक्नुपर्छ ।

प्रकाशित मिति : २०८३ मंसिर १ गते मंगलबार