२०८३ असार २९ , सोमबार

बाँदरलाई सुर्ती!



विनोद नेपाल

भर्खरै डेङ्गुको आक्रमणबाट मुक्त भई स्वस्थ हुनुभएका ध्रब दाइले एउटा भेटमा भन्नुभयो ‘कतै घुम्न जाउँ बिनु, योजना बनाउ।’

उहाँले मलाई स्नेहले ‘बिनु’ भन्नुहुन्छ जुन मेरो घरमा मेरा मान्यजन एवम् नजिकका आफन्त र साथीभाइबाट स्नेहले बोलाइने नाम हो ।

म बसिरहन सक्दिन । नजिक होस् वा टाढा कतै न कतै जाउँ, केही नयाँ हेरुँ, बुझुँ, लेख्ने विषय पनि जुटाउँ, फुर्सदको सदुपयोग पनि गरुँ भन्ने लाग्छ र सकेसम्म लामो छोटो यात्रामा हिँडिरहन्छु । यो जानकारी दाइलाई छ । दाइले मलाई योजना बनाउन भन्नुको अर्को कारण थियो यस अघि गत चैतमा हामीले सँगसँगै गरेको कालिञ्चोक यात्रा । त्यो यात्राको योजना मैले बनाएको थिएँ र दाइ–भाउजुसमेत हाम्रो सात जनाको टोली कालिञ्चोक,चरिकोट हुँदै जिरीसम्म पुगेर फर्केको थियो मेरै अगुवाइमा ।

मैले सोधें – ‘कता जाने त दाइ ?’

उहाँले भन्नुभयो – ‘एक रात कतै गएर बसौंँ, जहाँ भएपनि हुन्छ, मलाई यो उकुसमुकुसबाट बाहिर निस्कन मन छ ।’

मैले ठाउँका बारे सोंच्नै भ्याएको थिइन, दाइले नै भन्नुभयो– ‘हलेसी जाउँ।’

मैले तुरुन्तै प्रस्तावको समर्थन गरें । त्यसो त म एकपटक त्यहाँ पुगिसकेको थिएँ तर मेरो पहिलो हलेसी यात्रा अधकल्चो वा अपूर्ण थियो । कारण, अर्धांगिनी साथमा थिइनन् जवकि धार्मिक स्थलमा पति पत्नी सँगै जानुपर्छ भन्ने मान्यता छ हाम्रो । त्यस अनुसार पनि र अर्को कुरा कार्यालयको कामको सिलसिलामा दिक्तेल जाँदै गर्दा बाटोमा परेकाले यस पवित्र स्थानमा संयोगले पसेका मात्र थियौँ हामी त्यतिबेला, वास्तवमा त्यो यात्रा हलेसी लक्षित थिएन र सर्सस्ती हेर्नेसम्मको काम मात्र भएको थियो।

अब म साधनको खोजीमा लागें । आन्तरिक होस् वा बाह्य, ‘प्याकेज’मा घुमफिर गर्ने गराउने चलन निकै बढेको छ अचेल । विदेश भ्रमण निकै बढेको छ तर यसले आन्तरिक पर्यटनलाई पनि निकै सहयोग पुगेको छ । घुमफिरमा जाँदा कुनै ठाउँमा पुगेर कहाँ बस्ने, के खानेको चिन्ता लिनु भन्दा चिन्ता बिना नै यात्रा गर्नु उचित हुने लाग्छ र हामी बेलाबेला यस्तो यात्रामा निस्कन्छौँ ।

यसरी लैजाने गाडीहरू त पाइन्छन् तर तिनले अलि धेरै यात्रु राख्न चाहन्छन् भने हामी होलो र सजिलो यात्रा गर्न चाहन्छौँ । यसका लागि पैसा भने केही बढी तिर्नु पर्ने हुन्छ । सधैझैँ अरुसँग मिसिनु भन्दा आफ्नै समूह बनाउने र कम यात्रु भएवापत लागेको दस्तुर व्यहोर्नका लागि पनि तयार थियौँ यसपटक पनि हामी ।

गाडी त पाइहाल्छ, सात जना जुट्नुप¥यो पहिले किनकि हामी त दुई जोडी अर्थात् चार जना मात्रै छौँ ।

अब हामी सहयात्रीको खोजीमा लाग्छौँ ।

म झट्ट सम्झन्छु कलेज जीवनको प्रारम्भमा परिचित तथा लामो समय शिक्षण पेशामा सलग्न भइ केही समय अगि मात्र निवृत्त मित्र नारायण अधिकारीलाई । पाल्पामै बस्ने उनी काम विशेषले काठमाडौमै छन् भन्ने थाहा थियो । मैले उनलाई तत्काल फोन गरें । हाम्रो योजना सुनाएँ । उनीहरू जोडी नै यतै रहेछन् । मेरो प्रस्तावमा उनले भने ‘जाने, तर दिन चाहिँ मिलाउनु पर्छ, हामीलाई कुन दिन मिल्छ म सल्लाह गरेर भन्छु अनि निधो गरौंला।’

केही समयमै उनले भने ‘शुक्रबार गएर शनिबार फर्कने हो भने दुबै जना जान सक्छौँ, नत्र चाहिँ म एक्लै ।’

उनको त्यो भनाइले मलाई ढुक्क बनायो, छ जना पुग्यौँ, अब एक जना त पक्कै भेटिन्छ । ‘के भो र शुक्रबारै जाउ्रँला, आखिर हामी फुर्सदिला नै त छौँ सबै’ मैले मनमनै भनेँ ।

अनि मैले यस अघिका हाम्रा यस्तो यात्राका यात्रा व्यवस्थापकहरूसँग सम्पर्क थालेँ । कसैको मोबाइल स्वीच अफ, कसैको नउठ्ने । यही क्रममा गत वैशाख महिनाको प्रारम्भमा हामीलाई मुक्तिनाथ हुँदै कोरला नाकासम्म पु¥याएर ल्याउने गाडीवालासँग सम्पर्क भयो । एकैछिनमा कुरा मिल्यो । शुक्रबार पुस ८को दिन यात्रा निश्चित गरियो ।

गाडीको ठेगान भएको जानकारी गराउन ध्रुब दाइलाई फोन गर्न मात्रै के थालेको थिएँ, दाइकै फोन आयो ‘ल बाबु सातै जना हुने भइयो, एकजना दिदी हुनुहुन्छ, उहाँ जाने हुनुभयो ।’

ढुक्कै भयो अब ।

यो थियो बुधबारको कुरा ।सोमबारको प्रस्ताव, मंगलबार र बुधबारमा टुङ्गो लागिहाल्यो । यति छिटो भ्रमण योजनाको तारतम्य मिलेको यही नै पहिलो हो।

जाडोको समय, कत्तिको चिसो होला, के के लैजाने, यिनैले केहीबेर अल्मल्याए । तर एक रातको बसाई त हो, भनेर सोही अनुसार तयारी गरियो ।

त्यो दिन अर्थात् पुस ८, २०७९आइहाल्यो ।

विहान ७.३०मा हामी गाडीमा बस्यौँ, पुग्यौँ बालाजु उद्यान, माछापोखरी हुँदै बसुन्धरा । सडक छेउ प्रतीक्षामा थिए नारायण–सरस्वती जोडी । तिनलाई गाडीमा राखेपछि पुग्यौँ शान्तिनगर त्यहाँबाट ध्रुबदाइ, इन्दु भाउजु र लक्ष्मी दिदी गाडीमा बसेपछि हाम्रो यात्रा गन्तव्यतर्फ अगाडि बढ्यो ।

काठमाडौको कोलाहल र गज्याङगुजुङ छाडेर ८.३०मा कोटेश्वरबाट पूर्वतर्फ सोझियो हाम्रो गाडी ।

विहानको समय प्रायः सडक खुला हुन्छ । कार्यालयको समय हुन आँटेकाले केही चाप बढिरहेको भएपनि हामी सहजै पुग्यौँ साँगा भन्ज्याङ।

काठमाडौको उकुसमुकुस चारभन्ज्याङबाट बाहिर निस्केपछि सकिन्छ । खाल्डोबाट निस्केपछि खुला आकाशमुनि भएको महसुस हुन्छ । वास्तवमा त्यहाँबाट बाहिरको संसार नै भिन्न छ । लाग्छ त्यो स्वतन्त्र र निर्बन्ध छ , खुला छ । काठमाडौ खाल्डो चाहिँ कताकता बन्धनभित्र छ जस्तो लाग्छ ।

बनेपा हुँदै धुलिखेल पुगेपछि अरनिको राजमार्ग छाडी वीपी राजमार्ग तर्फ सोझियौँ हामी ।

काभ्रे भन्ज्याङ आइपुग्यो । यो नमोबुद्धका लागि बाटो फाट्ने ठाउँ हो । यहाँ स्वर्गीय मदन भण्डारीको पूर्ण कदको सालिक सहितको उनकै नामको उद्यान बनेको छ तर हराभरा होइन उजाड छ त्यो । अचेल लहडबाजीमा नै अनेकथरी निर्माणमा खर्च गर्ने तर त्यसको व्यवस्थापन तर्फ ध्यान नदिने गरेको धेरैतिर देखिन्छ । यो पनि त्यही कोटिको निर्माण हो भन्ने महसुस भयो ।

त्यहाँबाट भकुण्डेबेसी सम्मको परिवेश र दृश्य आफ्नै खालको छ । सहरको नजिक भएर पनि ग्रामीण जीवन अत्यन्त लोभलाग्दो छ यहाँको । सडक छेउ ठाउँठाउँमा होटल, पसलहरू छन्, तर भित्र चाहिँ हरियाली छ,खेतीपाती छ, परिवेश ग्रामीण छ । ऊ प..र पृष्ठभूमिमा हांसिरहेका हिमाल देखिन्छन्, ती भन्दा वर तरेली परेका पहाडहरू देखिन्छन् । अनि पाँचखाल देखिन्छ यता । उता प..र डाँडामा देखिन्छ पलाञ्चोक भगवती मन्दिर र बजार।

दृश्यहरू मनमोहक मात्र होइन लोभलाग्दा पनि छन् ।यी दृश्य हेरिरहँदा साँच्चै धरतीको स्वर्गमा छौँ जस्तो महसुस हुन्छ।

विहानको समय, चिसोमहसुस भइरहेको छ । गाडीको चाप छैन । गाडी आफ्नै गतिमा ओरालो झर्दैछ । गाडी भित्र कुराको कमी छैन तर म ती कुरा भन्दा प्रकृतिको सुन्दरतामा हराइरहेको छु ।

भकुण्डेबेसी पुगेपछि चाहिँ फरक खालका दृश्य देखिन थाल्छन् । यो व्यापारिक थलो बनेको छ अचेल । केही वर्ष अघिसम्म धान मकै फल्ने गरा र पाटाहरूमा अचेल घरहरू उभिएका छन् । हराभरा यो भूमि कंक्रिटको जङ्गलमा परिणत भइरहेको छ र त्यो बिस्तार हुने,बढ्ने क्रममै छ । बाक्लिने मात्रै होइन घरहरूबीच अग्लिने होड पनि छ । शायद २०७२ सालको विनासकारी भूकम्पको चोट भुलिसकेका छौँ हामीले ।

सडक र सहर नै विकास हो भन्ने धारणा छ अचेल, खै किन हो ? म बुझ्न सक्दिन । सडक त पूर्वाधार हो चाहिन्छ आवागमनका लागि, तर सहर ? गाउँहरूलाई नै सुबिधासम्पन्न बनाए, तिनलाई नै सहर माने के नै फरक पर्छ र ? जसरी सहरीकरण भएको छ यसै हिसाबले सहरहरू बिस्तार हुँदै जाँदा खाद्यान्न तथा कृषिजन्य उत्पादन गर्ने जमीन मासिंदै जाने र खानेकुराकै अभावमा जीवन कष्टकर हुने सम्भावनाप्रति ध्यानाकर्षण हुनुपर्ने हो कि ? अझ हाम्रा जस्ता अव्यवस्थित एवम् योजनाविहीन रूपमा जथाभावी बनेका सहरले कुरूपता र असुबिधा सँगसँगै जोखिम बाहेक के नै पो दिन्छन् र ?

अलि तल पुग्दा अघिसम्म वायाँ रहेको दाप्चा खोला दायाँ लाग्यो । हामी बाहिरियौँ भकुण्डेबेसीबाट अनि पुग्यौँ रोसी खोला छेउ । केही किलोमिटर रोशी किनारको यात्रा पछि नेपालथोक हुँदै दुम्जा पुग्यौँ । शायद नाम नै ‘नेपालथोक’ भएकाले होला मलाई यहाँ पुग्दा पाल्पाको आफ्नै गाउँ ‘पोखराथोक’पुगेजस्तो लाग्छ।

यहीँनेर रोसी आफ्नो स्वतन्त्र अस्तित्व गुमाउँदै समाहित हुन्छ सुनकोसीमा र यहाँबाट हाम्रो यात्रा अघि बढ्छ सुनकोसी सँगसँगै।

वारि सडक छेउछाउ हरियाली छ , तर पारिको दृश्य भने उजाड उदास अनि पट्यारलाग्दो । रामेछाप जिल्लाको यहाँदेखि अगाडि ओखलढुङ्गा सीमानासम्मकै दृश्य लगभग उस्तै हो दिक्क लाग्दो उराठिलो । अहिले नै यस्तो छ भने चैत वैशाखको उजाड याममा कस्तो होला ? वनस्पति शून्य जस्तै देखिन्छ त्यो, मैले पटकपटकको यात्रामा देखेको छु ।

सुनकोसी छेउका बस्तीहरू हेर्दै मुल्कोट पुग्यौँ । यहाँ पुग्दा देखिन्छ जापानी सहयोगमा बनेको बर्दिबास–धुलिखेल बीपी राजमार्गको वास्तविक स्वरूप । त्यसो त खुर्कोटबाट उकालो चढेरखनियाखर्क अनि ओर्लेर सिन्धुली बजार पुग्दासम्म जोखिमसँगै सडकको आफ्नै रोमाञ्चकता छ । तर खुर्कोट यता भने यहिँ नै देखिन्छ अन्य सडक भन्दा भिन्न तरिकाले बनेको यस सडकको वास्तविक रूप ।

मुल्कोटबाट उकालो केही घुम्ती कटेपछि तेर्सोमा छ सेतीदेवी मन्दिर । सडकको भित्तामा खोपेर बनाइएको यो मन्दिर र यस स्थानको यहाँ भइरहने गरेका दुर्घटनासँग सम्बन्ध छ । तर एकातिर छंगाछुर भिर अनि अर्कोतिर भित्तामा ऐनै ऐना टाँगिएका छन् । खै के लहडबाजी हो यो ? केही वर्ष अघिसम्म फाटफुट मात्रै ऐना देखिने यो ठाउँ हेर्दाहेर्दै धार्मिक स्थल पो हुन पुग्यो, आश्चर्य लाग्छ हाम्रो आस्था र विश्वास देखेर!

सुनिएअनुसार यस स्थानमा पटकपटक सवारी दुर्घटना भई थुप्रैको ज्यान गएपछि, दुर्घटना नहोस् भन्ने कामना गर्दै यहाँ ऐना चढाउन थालियो, हुँदाहुँदै देवीको मन्दिर नै बन्यो । म सोच्छु अब यही ऐना र सडक छेउको मन्दिरका कारण दुर्घटना हुन बेर छैन । यसबारे सम्ब्िरन्धत निकायले समयमै सोच्नुपर्ने आवश्यकता महसुस गर्छु म ।

गति कम गर्नुपर्ने त बाध्यता नै हुन्छ त्यहाँ पुग्दा तर हामी रोकिएनौँ । अगाडि बढ्यौँ ।

खाल्टेमा पुग्दा गुडिरहेको गाडीबाट देखिएको एउटा छाप्रे होटल अगाडिको पाटीले मेरो ध्यानआकर्षित ग¥यो जहाँ लेखिएको थियो ‘श्री ५ अम्बरे होटल’ । लहडबाजी न हो, कुन लहडमा कसैले ‘श्री ५’ घोषित गरेछ आफैलाई ।

पुगियो खुर्कोट भोको पेट लिएर मध्यान्ह १२ बजे ।

सडक छाडेर गाडी सोझियो अतिथि होटल तर्फ र रोकियो । भोका हामी फटाफट ठाउँ लिएर बस्यौँ । एकैछिनमाटेबुलमा खाना आयो, देखेर मन रमायो । तर खान भने सकिएन । के के गन्हाएजस्तो,बासी जस्तो, बेस्वाद,त्यहि पनि हेरियो, मुख जुठ्याइयो र अघि बढियो । दोष हामीमै थियो जे र जस्तो पाएपनि नखानुमा थियो । संयोग हामी सबै शाकाहारी,कोही सधैका र कोही औँसी परेकाले त्यस दिनका मात्र ।हामी आफैलाई दोष दियौँ खाना मन नपर्नुका लागि ।

हाम्रा राजमार्गका होटलहरूको हालत यस्तै हो चाहे जहाँ जाउँ । शुद्ध, ताजा र स्वस्थकर खाना पाउन कठिन, महगो उस्तै । ‘लाइनका होटल’ भनेर चिनिने यिनमा व्यावसायिकता भन्दा मुनाफा नै हेर्ने चलन छ । एक छाके पाहुनालाई रिझाएरै पो के गर्नु छ र ?

हामी ‘बीपी राजमार्ग ’ छाडेर ‘मध्य पहाडी लोकमार्ग’तर्फ लाग्यौँ खुर्कोट बजारको छेउमै रहेको पुल तरेपछि । हामी गुडिरहेको राजमार्ग दायाँ उक्लियो, हामी लोकमार्ग समाइ पूर्व सोझियौँ ।

यो ‘राजमार्ग’ र ‘लोकमार्ग’को कुरा पनि अचम्मको छ । नेताजीहरूको लहडबाजी, सस्तो लोकप्रियता कमाउने चाहना । जनवादी वा जनपक्षीय वा लोकपक्षीय देखिनका लागि यसो गरिएको हो भन्ने लाग्छ मलाई गणतन्त्रको आगमनसँगै । हुन्थ्यो भने राजतन्त्रको भूतसँग तर्सेका तिनले ‘राजकुमार’ नाम भएका व्यक्तिलाई पनि ‘लोककुमार’ भन्दा हुन् । कुनै शब्दमाथि नै त्यतिबिधि पूर्बाग्रही हुनुको के औचित्य ? आखिर जुनसुकै तन्त्र आएपनि नेताको मोजमस्ती चलिरहेकै छ, जनताका सास्ती ठाउँको ठाउँ । लोकको हित हुने, लोकको पक्षमा हुने,लोकले वाहवाही गर्ने काम भए पो लोकतन्त्र, गणतन्त्रको औचित्य रहन्छ, शब्द मात्रै त के गर्नु ? गुड्ने सवारी साधन नै हो, लोकमार्ग होस् कि राजमार्ग कै नै फरक छ र ?

हैवार, बलेनी, देउरालीटार हुँदै ग्वालटार पुगियो । त्यहाँ बस्ती बाक्लिंदो छ, हरियाली छ, बसेरी, सुलिभन्ज्याङ,कुखुरेटार, कुडुले,कालीआप, च्याखुटार, सुम्नामवेसी, खाङसाङबेसी, झगरेबेसी,तीनखण्डे हुँदै पुगियो घुर्मि ।अघिल्लो यात्रामा भन्दा यसपटकको भिन्नता बीचका खोलामा पुल बनेछन् केही केही भने निर्माणाधीन अवस्थामै रहेछन् । सडक चाहिँ बिग्रेको रहेछ घुर्मिसम्मकै यसैले लाग्नुपर्ने भन्दा बढी समय लाग्यो।

कहाँको कटारी कताको घुर्मि, यो कटारी नगरपालिकाको वडा न १४मा पर्छ । बजार बिस्तार हुँदैछ यहाँ । तर ठाउँ नै पो कति छ र यो कुनोमा ? जेसुकै होस् तराई जोड्ने पुरानो सडक सगरमाथा राजमार्ग भेटिन्छ यहाँ । यसको आफ्नै महङ्खव छ।

अब सुनकोसी माथिको पुल तरेर पसियो ओखलढुङ्गा जिल्ला । सुनकोसी किनारको यो बजार हो हर्कपुर । यहाँबाट उकालो अनि मानेभञ्ज्याङ गाउँपालिका शुरु हुन्छ । उकालोमा सडकको बीचमा छ विश्वकर्मा बाबाको मन्दिर । हामी बाबासँग यात्रा सफलताको कामना गर्दै अघि बढ्छौँ ।

झण्डै पाँच किलोमिटर माथि हिलेपानी पुगेपछि गुडिरहेको सडक ओखलढुङ्गा र खोटाङ तर्फ लाग्नेगरी विभाजित हुन्छ । ओखलढुङ्गा उकालो चढ्यो, खोटाङ सडक ओरालो ।

ओरालो लागेपछि देखियो दूधकोसी । गाउँ छ, ढुङ्ग्याहान छ माटो भेट्न गाह्रो होला जस्तो लाग्छ हेर्दा तर पनि खेती भएको छ , हरियाली पनि छ ठाउ्रँठाउँमा । हामी अनुमान गर्छौं तरकारी होला, तर नजिकै पुग्दा थाहा हुन्छ तरकारी होइन त्यो हरियाली त सुर्तीको पो रहेछ ।

जस्तोसुकै भूमि होस् प्रकृतिले कहिँ न कहिँ केही न केही उब्जनी हुने क्षमता दिएको छ भूमिलाई, जतिसुकै सुख्खा र अनुर्वर देखिएपनि केही न केही उब्जन्छ, केवल हामीले पहिल्याउनुपर्छ । अनौठो लाग्छ हामीलाई यो पहाडमा सुर्ती खेती देखेर । म बाल्यकाल तर्फ फर्कन्छु, सम्झन्छु बाल्यकालमा हजुरबाले हुक्का तानेको । घरमै उब्जेको सुर्तीटेमा राखेर पकाएर तमाखु बनाएको । बारीमा प्रशस्त सुर्ती हुन्थ्यो त्यतिखेर, खै अचेल त बिउ नै मासियो होला उता । म नारायणलाई सोध्छु, उनी भन्छन्, ‘खै, अचेल देखिँदैन । अचेल तमाखु खाने चलन पनि हरायो होला गाउँघरमा शायद, हुँका, चिलिम पनि त कतै देखिँदैन, झमेला पनि त छ तमाखु बनाउनु, खानुमा ।’

हाम्रो समस्या, अचेल गाउँमा जतासुकै खेतीपाती कम भएको छ । यसैले हरियाली, जङ्गल बढेको छ । हरियाली बढ्नु राम्रो हो तर बाँदरलगायतका पशुको बिगविगी छ वा भनौं तिनकै साम्राज्य छ मानिसहरू, सहर र विदेशतिर लाग्दा ।आफ्ना जन्मभूमि कसैले बाध्यताले र कसैले रहरले छाडेका छन् भिन्नै कुरा हो । तिनै बारीका उब्जनीले धानिन्थ्यो त्यतिबेला पेट । कसैले निमेक पर्म गरेर खानुपर्दो हो त्यो कुरा आफ्नै ठाउँमा छ तर अन्नपात देखि फलफूल आदि त्यहिँ जुट्थ्यो अन्यत्रबाट ल्याउनु पर्थेन । कपडा, नून र मट्टितेल बाहेक बजारबाट खासै केही किन्नुपर्दैनथ्यो, किनेर खाने चलन नै निकै कम थियो । गुलियोको हकमा उँखु खेती हुन्थ्यो र खुदोले गुलियोको काम गरिहाल्थ्यो । अहिले सबैकुरा बजारमा निर्भर छ । अस्वस्थकर, बेस्वादिलो खानु परिरहेको छ । हामी केहीबेर त्यतिखेरको समाज अनि गाउँले जीवनतर्फ फर्कन्छौँ ।

अचेल गाउँका फलफूलका बोटमा बांदरको हैकम छ । अन्न बालीमा बांदरकै रजगज छ । हामी खेले हुर्केका आँगनमा बाँदरकै दौडकुँद छ । अब हाम्रा गाउँमा त्यो रौनक आउने सम्भावना कमै छ । तर बाँझो जमिनको सदुपयोग भैदिए हुन्थ्यो भन्ने हाम्रो चाहना छ । ध्रुबदाइ,नारायण र म तीनैजना यसमा एकमत छौँ ।महिलाहरूको पनि यसमा समर्थन छ । र आँखा अगाडि यहाँका पाखामा सुर्ती खेती देख्दा हाम्रा बाँझिएका जमिनमा पनि सुर्ती खेती पो उपयुक्त हुने हो कि ? भन्ने विषयमा छलफल गर्छौं ।

तर बजार? बाँदरले वा कुनै पशुले नखाने सुर्ती उत्पादन भैहाले पनि त्यसको बजार कहाँ खोज्ने ? जमिन बांझो राख्ुन भन्दा त सुर्ती नै भएपनि खेती गर्नु उपयुक्त हो । यो नगदेबालीले हाम्रो जीवनस्तर उकास्न र जीविका चलाउन पनि सहयोग गर्नेछ तर भरपर्दो बजारको सुनििश्चतता कसले गरिदिने ? यसका लागि सम्बन्धित उद्योगहरूसम्म पहुंच स्थापित गनूृपर्छ पहिले । झट्ट हामी सम्झन्छौँ नगदेबाली भनिने उँखु खेती र तराईका किसानले भुक्तानीका लागि गर्नुपरेको आन्दोलन अनि तिनका आँशु । ऋणधन गरेर खेती ग¥यो, मिल मालिकलाई बुझायो,त्यस्तो खेतीको के अर्थ ?स्थानीय तहका प्रतिनिधि जिम्मेबार नबनेसम्म र देशमा जिम्मेवार सरकार नबनेसम्म नागरिकको अवस्था सुध्रन गाह्रो हुन्छ । प्रशस्त सम्भावना भएर पनि हामी पछौटेपनको शिकार हुनुपरेकै अदूरदर्शी एवम् स्वार्थी नेतृत्वको कारण हो ।

यिनै कुराकानी गर्दागर्दै हामी जयरामघाट पुग्छौं र पुल पार गरी खोटाङ जिल्ला प्रवेश गर्छौं ।

अब शुरु हुन्छ उकालो ।

बाटो खत्तम छ यहाँ पनि । अलिअलि हुँदैमा मर्मत गरे पो धेरै बिग्रन्नथ्यो, खत्तमै भैसकेपछि मात्र बनाउने चलन छ हाम्रो,के गर्नु ? सानो काममा थोरै बजेट खर्च हुने भएकाले कमाइ नहुनेहोला काम लगाउनेहरूको, यसैले भताभुङ्गै हुन्जेल पर्खन्छन् ती । सडक बिग्रंदा त्यससँगै बढ्ने जोखिम अनि सवारी साधनलाई पर्ने मार र सम्भावित क्षतिको तिनलाई के वास्ता ? कहिले होला हाम्रो यस्तो प्रचलन सुध्रने ?

खोटाङ जिल्ला प्रवेश गरेपछि झण्डै ३० किलोमिटर पार गर्न हामीलाई झण्डै दुई घण्टा लाग्यो । साँझ साढे चार बजे हलेसी बजार पुग्दा चिसो सिरेटोले मन फुकाएर हामीलाई स्वागत ग¥यो।

प्रकाशित मिति : २०८१ असोज २९ गते मंगलबार