सुर्खेत । “सूचना प्रविधिको विस्तारः दिगो विकासको आधार” भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ को अवसरमा क्यान महासंघ सुर्खेत शाखाको आयोजनामा १ दिने एआईसम्बन्धी तालिम सम्पन्न भएको छ।

कार्यक्रमको सभाध्यक्षता क्यान महासंघ सुर्खेत शाखाका अध्यक्ष डिबी रानाले गरेका थिए भने प्रमुख अतिथिको रूपमा सुर्खेत उद्योग वाणिज्य संघका उपमहासचिव पूर्णदेव अधिकारी थिए ।
यस्तै विशेष अतिथिमा क्यान महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष टेक बहादुर थापा र क्यान महासंघ कर्णाली प्रदेशका पूर्व अध्यक्ष प्रेमप्रकाश चन्द लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि पूर्णदेव अधिकारीले सूचना प्रविधिको विकासले समाजको हरेक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएको बताउँदै यस्ता तालिमले शिक्षक तथा युवाहरूलाई प्रविधिमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
विशेष अतिथि टेक बहादुर थापा र प्रेमप्रकाश चन्दले कृत्रिम बुद्धिमत्ता एआईको वर्तमान आवश्यकता, यसको प्रयोग र भविष्यका सम्भावनाबारे प्रकाश पार्दै यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
तालिमका प्रशिक्षक समेत रहेका सभाध्यक्ष डिबी रानाले एआईको आधारभूत जानकारी, प्रयोगका क्षेत्र, शिक्षामा यसको उपयोग तथा डिजिटल युगमा यसको प्रभावबारे सहजीकरण गरेका थिए ।
कार्यक्रमले शिक्षकहरूले कक्षा शिक्षणलाई प्रभावकारी बनाउन डिजिटल माध्यमको प्रयोगमार्फत नयाँ प्रविधिसँग परिचित गराउनुका साथै सूचना प्रविधिप्रतिको रुचि र ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
वीरेन्द्रनगर-६ स्थित अमेरिकन कर्नर हलमा आयोजित उक्त तालिममा विभिन्न सामुदायिक विद्यालयका शिक्षकहरूसहित अन्य ३० जनाको सहभागिता रहेको थियो।






