२०८३ असार २८ , आइतबार

सुर्खेतमा पहिलो पटक ऐतिहासिक ‘एक्वा जुम्बा’ कार्यक्रम



सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पहिलो पटक ‘एक्वा जुम्बा’ कार्यक्रम गरिएको छ । स्वास्थ्य, मनोरञ्जन तथा सामाजिक उत्तरदायित्वलाई एकैसाथ प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘केएफसी जुम्बा,जिम फिटनेस सेन्टर सुर्खेत’ ले वीरेन्द्रनगरमा पहिलो पटक ऐतिहासिक एक्वा जुम्बा  (Aqua zumba) कार्यक्रम आयोजना गरेको हो ।

सुर्खेतमा पहिलो पटक ‘एक्वा जुम्बा’को आयोजना गरिएको केएफसी जुम्बाका डाइरेक्टर सुम्निमा वलीले बताइन् । वीरेन्द्रनगरका स्वास्थ्यप्रेमी युवा तथा सर्वसाधारणलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको थियो । पानीभित्र संगीतको तालमा गरिने विशेष जुम्बा अभ्यासको अनुभव प्राप्त गरिएको सहभागि लक्ष्मी गौतमले बताइन् ।

पानीमा गरिएकाले शरीरमा पर्ने दबाब कम, जोर्नी तथा मांसपेशीमैत्री र व्यायामलाई थप मनोरञ्जनात्मक लिइएको उनको अनुभव छ । यो जुम्बाको धेरै विशेषताका कारण विश्वभर लोकप्रिय बन्दै गएको एक्वा जुम्बा सुर्खेतमा पहिलो पटक आयोजना गरिएको हो ।

कार्यक्रममा नेपालका अनुभवी तथा प्रमाणित जुम्बा प्रशिक्षकको प्रशिक्षण रहेको थियो । कार्यक्रमलाई थप आकर्षक बनाउन अन्डरवाटर फोटो बुथ, लाइभ डिजे प्रस्तुति तथा लक्की ड्रमार्फत आकर्षक उपहारहरू को समेत व्यवस्था गरिएको थियो ।

स्वास्थ्य, मनोरञ्जन र सामाजिक उत्तरदायित्वको संयोजनका रूपमा रहेको यस कार्यक्रमले सुर्खेतमा नयाँ अभ्यासको सुरुवात भएको विश्वास व्यक्त गर्दै आयोजक टिम केएफसी जुम्बाले आगामी दिनमा पनि यस्ता खालका कार्यक्रम आयोजन गर्ने जनाएको छ ।

वीरेन्द्रनगरमा रहेको केएफसी जुम्बा,जिम फिटनेस सेन्टरको आयोजना तथा ईनर ह्विल क्लव सुर्खेत भ्याली र इभेन्ट म्यानेजर प्राइभेट लिमिटेडको समन्वयमा कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति : २०८३ असार २८ गते आइतबार