२०८३ भदौ १० , बुधबार

मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट कर्णालीका तीन कृषक सम्मानित



सुर्खेत । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत प्रदान गर्दै आएको ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ यस वर्ष तीन जना उत्कृष्ट कृषकलाई प्रदान गरेको छ ।

पुरस्कारबाट बायोग्रिन एग्रो प्रालिका सञ्चालक समीर खत्री प्रथम, चलाउने कृषि तथा पशुपन्छी फार्मका सञ्चालक अमित चलाउने द्वितीय तथा कर्णाली ड्रागन कृषि तथा पशुपन्छी फार्मका सञ्चालक सुमन सुवेदी तृतीय घोषित भई सम्मानित भएका हुन् ।

उनीहरूलाई कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले सम्मानपत्र, खादा तथा नगद पुरस्कारसहित सम्मान गरे । पुरस्कारअन्तर्गत प्रथम हुने खत्रीलाई ३० हजार रुपैयाँ, द्वितीय हुने चलाउनेलाई २५ हजार रुपैयाँ र तृतीय हुने सुवेदीलाई २० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

सम्मान कार्यक्रममा कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकाय, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारलगायत कृषि क्षेत्रका कृषक तथा अन्य क्षेत्रका सरोकारवालारूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्त्री शाहले कृषि क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने कृषकलाई सम्मान गर्ने परम्पराले व्यावसायिक कृषिप्रति आकर्षण बढाउनुका साथै अन्य कृषकलाई पनि आधुनिक र उत्पादनमुखी कृषि प्रणाली अपनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारले कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण तथा आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माणलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायका अनुसार ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत कृषि क्षेत्रमा नवीन अभ्यास, उत्पादन वृद्धि तथा उद्यमशीलता विकासमा योगदान पु¥याउने कृषकलाई प्रोत्साहन गर्दै सम्मान गर्ने उद्देश्य राखिएको छ ।

प्रकाशित मिति : २०८३ असार २८ गते आइतबार