२०८३ असार २९ , सोमबार

विशेषज्ञ चिकित्सक नहुँदा शल्यक्रिया बन्द



सल्यान । विशेषज्ञ चिकित्सकको अभावका कारण सल्यान जिल्ला अस्पतालमा सिजेरियनसहित विभिन्न शल्यक्रिया सेवा प्रभावित भएका छन् । अस्पतालले सार्वजनिक सूचना जारी गर्दै एमडीजीपी (MDGP) र स्त्रीरोग तथा प्रसूति विशेषज्ञ (Gynecologist) चिकित्सकको पद रिक्त रहेकाले शल्यक्रिया सेवा अस्थायी रूपमा बन्द भएको जनाएको छ । अस्पतालका अनुसार हाल सिजेरियन शल्यक्रिया, पाठेघरसम्बन्धी शल्यक्रिया (हिस्टेरेक्टोमी), एपेन्डिसाइटिस, हर्निया तथा अन्य सामान्य शल्यक्रिया सञ्चालन गर्न सकिएको छैन ।

विशेषज्ञ चिकित्सक नहुँदा आकस्मिक शल्यक्रिया आवश्यक पर्ने बिरामी र सुरक्षित प्रसूति सेवा लिन आउने गर्भवती महिला सबैभन्दा बढी प्रभावित भएका छन् । सेवा बन्द भएपछि उपचारका लागि बिरामीलाई सुर्खेत, नेपालगञ्जलगायत अन्य जिल्लाका अस्पतालमा रिफर गर्नुपर्ने अवस्था सिर्जना भएको अस्पतालले जनाएको छ । यसले बिरामी र आफन्तलाई लामो दूरी यात्रा गर्नुपर्ने, थप आर्थिक खर्च व्यहोर्नुपर्ने तथा समयमै उपचार नपाउँदा स्वास्थ्य जोखिम बढ्ने समस्या निम्तिएको छ ।

अस्पताल प्रशासनले जिल्लामै सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सम्बन्धित निकायसँग रिक्त विशेषज्ञ चिकित्सकको पद तत्काल पूर्ति गर्न आग्रह गरेको छ। आवश्यक जनशक्ति उपलब्ध भएपछि शल्यक्रिया सेवा पुनः नियमित रूपमा सञ्चालन गरिने अस्पतालको भनाइ छ । सेवा पुनः सञ्चालन नहुँदासम्म शल्यक्रिया आवश्यक पर्ने बिरामीलाई आवश्यक परामर्शसहित सुविधा सम्पन्न अस्पतालमा रिफर गरिने जानकारी पनि अस्पतालले दिएको छ ।

आकस्मिक स्वास्थ्य समस्या देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्था वा रिफर गरिएका अस्पतालमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । जिल्लाको प्रमुख सरकारी स्वास्थ्य संस्थाका रूपमा रहेको सल्यान जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव दोहोरिँदै आएपछि स्थानीयवासीले स्थायी रूपमा विशेषज्ञ चिकित्सकको व्यवस्था गरी जिल्लामै शल्यक्रिया तथा सुरक्षित प्रसूति सेवा नियमित सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रकाशित मिति : २०८३ असार २९ गते सोमबार