कालीकोट । जिल्लाकाे तिलागुफा नगरपालिकाले नगरक्षेत्रमा उत्पादन हुने स्याउको गुणस्तर संरक्षण, बजार व्यवस्थापन र ब्रान्ड पहिचानलाई सुदृढ बनाउन नयाँ व्यवस्था लागू गरेको छ । अबदेखि तिलागुफाबाट जिल्लाबाहिर स्याउ निकासी गर्न चाहने कृषक तथा व्यवसायीले नगरपालिकाको आधिकारिक सिफारिस लिएपछि मात्रै स्याउ निर्यात गर्न पाउने भएका छन् । नगरपालिकाका अनुसार स्थानीय उत्पादनको विश्वसनीयता कायम राख्दै उपभोक्तासम्म गुणस्तरीय स्याउ पुर्याउने उद्देश्यले यो निर्णय गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद काफ्लेले स्याउ निकासी प्रक्रियालाई व्यवस्थित, पारदर्शी र मापदण्डमा आधारित बनाउन सिफारिस प्रणाली लागू गरिएको बताए उनका अनुसार तोकिएका सबै प्रक्रिया पूरा गरेपछि मात्रै नगरपालिकाले आधिकारिक निकासी सिफारिसपत्र उपलब्ध गराउनेछ । नयाँ व्यवस्थाअनुसार स्याउ ढुवानी वा निर्यात गर्न चाहने कृषक वा व्यवसायीले कम्तीमा तीन दिनअघि नगरपालिकाको कृषि सेवा केन्द्रमा निवेदन दर्ता गर्नुपर्नेछ ।
निवेदनमा उत्पादन भएको स्याउको परिमाण, उत्पादन क्षेत्र तथा निर्यात गरिने गन्तव्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । निवेदन प्राप्त भएपछि नगरपालिकाका कृषि प्राविधिकले सम्बन्धित बगैंचा वा संकलन स्थलमा पुगेर स्याउको गुणस्तर, परिमाण तथा रोग किराको अवस्थाबारे स्थलगत निरीक्षण गर्नेछन् । निरीक्षण प्रतिवेदन सन्तोषजनक भएमा आवश्यक राजस्व बुझाएर मात्रै निकासी सिफारिसपत्र प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
कृषि विकास अधिकृत गोविन्द भट्टका अनुसार तिलागुफा नगरपालिका कालीकोटको प्रमुख स्याउ उत्पादन क्षेत्र हो । यहाँबाट हरेक वर्ष १० हजार क्विन्टलभन्दा बढी स्याउ देशका विभिन्न जिल्लामा निर्यात हुने गरेको छ। विगतमा काँचो स्याउ बजारमा पठाउने, अन्य क्षेत्रको स्याउलाई तिलागुफाको नाममा बिक्री गर्ने तथा गुणस्तरमा एकरूपता नहुँदा स्थानीय उत्पादनको छविमा नकारात्मक असर परेको थियो । त्यसका कारण तिलागुफाको स्याउले अपेक्षित मूल्यसमेत पाउन सकेको थिएन ।
नगरपालिकाले लागू गरेको नयाँ व्यवस्थाले तिलागुफाको स्याउको ब्रान्ड पहिचान संरक्षण गर्नुका साथै कृषकलाई उचित मूल्य दिलाउन, बजारमा गुणस्तरीय उत्पादनको आपूर्ति सुनिश्चित गर्न र कृषि व्यवसायलाई थप व्यावसायिक तथा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीय तहले आगामी दिनमा स्याउ उत्पादन, भण्डारण, प्याकेजिङ र बजारीकरणलाई अझ प्रभावकारी बनाउन थप कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत गरेको जनाएको छ ।








