२०८३ असार २९ , सोमबार

मिडिया हाउसमा अवरोधप्रति ध्यानाकर्षण



सुर्खेत । नेपाल मिडिया सोसाइटीले काठमाडौंका विभिन्न सञ्चारगृहको प्रवेशद्वार अगाडि एकै समयमा निजी सवारीसाधन पार्किङ गरी आवागमन अवरुद्ध गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोसाइटीले उक्त घटनालाई सञ्चारमाध्यमलाई त्रसित बनाउने प्रयासको संज्ञा दिँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

सोसाइटीले साेमबार जारी गरेको विज्ञप्तिअ नुसार बिहान करिब सात बजे काठमाडौंको तीनकुनेस्थित कान्तिपुर दैनिक र कान्तिपुर टेलिभिजन, नयाँ बानेश्वरस्थित अनलाइनखबर तथा मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय प्रवेशद्वार अगाडि एकैपटक निजी सवारीसाधन पार्किङ गरिएको थियो । यसका कारण सञ्चारकर्मी, कर्मचारी तथा सेवाग्राहीको आवतजावत प्रभावित हुनुका साथै समाचार संकलन, प्रकाशन र प्रसारणमा समेत अवरोध पुगेको सोसाइटीले जनाएको छ ।

नेपाल मिडिया सोसाइटीका महासचिव बोधराज त्रिपाठीद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमाथि असर पर्ने यस्ता गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गरिएको छ । घटनाको वास्तविक कारण पत्ता लगाई संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

सोसाइटीले सञ्चार संस्थालाई लक्षित गरी हुने यस्ता गतिविधिले स्वतन्त्र पत्रकारिता र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने भन्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ । साथै, मिडिया हाउसलाई आतंकित बनाउने वा समाचार उत्पादन प्रक्रियामा अवरोध पुर्‍याउने कुनै पनि गतिविधि पुनः नदोहोर्‍याउन सम्बन्धित पक्षलाई चेतावनी दिँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न सबैसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८३ असार २९ गते सोमबार