मुगु । पुनः पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका चारवटै स्थानीय तहमा लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आवश्यक सबै खोप प्राप्त गरेको पुष्टि भएपछि आइतबार विशेष कार्यक्रममार्फत घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष मञ्जनबहादुर कार्कीका अनुसार जिल्लाका चारै स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपनासम्बन्धी सबै मापदण्ड पूरा गरेपछि मुगुलाई पुनः पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । यसअघि पनि मुगु २०७५ सालमा पहिलोपटक पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको थियो । त्यसयता दिगोपनाका मापदण्डअनुसार नियमित अनुगमन र मूल्याङ्कन गर्दै यो अभियानलाई निरन्तरता दिइँदै आएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा १५ महिनामुनिका एक हजार दुई सय १४ जना बालबालिकाले नियमित खोप सेवा लिइरहेका छन् । त्यस्तै, १६ देखि ५९ महिनासम्मका सात सय ४१ जना बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत तोकिएका सबै खोप प्राप्त गरेका छन् ।पालिकागत विवरणअनुसार छायानाथ रारा नगरपालिकामा चार सय ९१ जना, सोरु गाउँपालिकामा दुई सय ६४ जना, खत्याड गाउँपालिकामा दुई सय ५४ जना तथा मुगुमकार्मारोङ गाउँपालिकामा एक सय पाँच जना १५ महिनामुनिका बालबालिका नियमित खोपको पहुँचमा रहेका छन् । त्यसैगरी, १६ देखि ५९ महिनासम्मका बालबालिकामध्ये छायानाथ रारामा तिन सय सोरुमा एक सय ७७, खत्याडमा दुई सय छ र मुगुमकार्मारोङमा ५८ जनाले पूर्ण खोप प्राप्त गरेको पुष्टि भएको छ ।
जिल्लाका चारवटै स्थानीय तह र ४५ वटै वडाले पूर्ण खोप सुनिश्चित तथा दिगोपनासम्बन्धी मापदण्ड पूरा गरेपछि पुनः जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जन्मेदेखि १५ महिनाभित्रका बालबालिकालाई बीसीजी, पोलियो, रोटा, एफआईपीभी, पीसीभी, डीपीटी हेपाटाइटिस बी–हिब, दादुरा–रुबेला तथा जापानी इन्सेफ्लाइटिसलगायत १४ प्रकारका रोगविरुद्ध ११ प्रकारका खोप निःशुल्क उपलब्ध गराइँदै आएको छ । स्वास्थ्यकर्मीहरूले पूर्ण खोप अभियानले बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउनुका साथै जिल्लामा बालस्वास्थ्य सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।









