बागमतीमा संसदीय समितिका ६ सभापतिले लिए शपथ

भागबण्डाको विषयमा केही रस्साकस्सी पछि नियुक्त भएका बागमती प्रदेशसभा संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

हेटौंडास्थित प्रदेशसभा सचिवालयमा आयोजित एक कार्यक्रमकाबीच विषयगत समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, अर्थ तथा विकास समिति सभापतिमा नुरज बज्राचार्य र विशेषाधिकार समितिको सभापतिमा मायादेवी शर्माले शपथ ग्रहण गरेका हुन्।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले उनीहरूलाई शपथ ग्रहण गराएका हुन्। प्रदेश मामिला समितिका सभापति लामा र सार्वजनिक लेखा समिति सभापति लामिछाने नेपाली कांग्रेसका हुन् भने शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति ढकाल नेकपा माओवादी केन्द्र, उद्योग पर्यटन तथा वातावरण समिति सभापति श्रेष्ठ नेकपा एमाले, अर्थ तथा विकास समिति सभापति बज्राचार्य राप्रपा र विशेषाधिकार समितिको सभापति शर्मा नेकपा एकीकृत समाजवादीका सांसद हुन्।

आन्तरिक भागबण्डाका लागि एउटा समिति थप गरेर ६ वटा बनाइएको हो। विशेष परिस्थितिमा निर्माण हुने विशेषाधिकार समिति थपिएको हो। यो समिति विशेष परिस्थितिमा बनाउने व्यवस्था रहे पनि भागबण्डाकै लागि बनाइएको हो।

समिति मात्र नभई बागमती प्रदेशमा मन्त्रालय संख्या समेत बढाइएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो सरकार टिकाउनका लागि मन्त्रालय संख्या समेत बढाएका हुन्।

करिब डेढ महिना मन्त्रालयविहीन रहेकी नेकपा एकीकृत समाजवादीका सांसद रमा आले मगरका लागि मन्त्रालय विभाजन गरिएको थियो। एकीकृत समाजवादीले ३ वटा मन्त्रालय पाउनुपर्ने आफ्नो अडान कायम राखेपछि सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो।

योसँगै बागमती प्रदेशमा मन्त्रालयको संख्या १२ बाट १३ पुगेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *