२०८३ मंसिर १ , मंगलबार

मोहन्याल गाउँपालिका -३ भत्कुरीमा सुन्तला खेती प्रशस्तै , बजार र सडकको समस्याले किसान चिन्तित



दिलिप कंडेल चौकुने । कैलालीको मोहन्याल गाउँपालिका–३ भत्कुरीमा यस वर्ष सुन्तला उत्पादन राम्रो हुने देखिएको छ। सुन्तलाका बोटमा लटरम्म फल लागेपछि स्थानीय किसानहरू उत्साहित बनेका छन्। तर उत्पादन राम्रो हुने संकेत देखिए पनि बजारको अभाव र सडकको असुविधाका कारण किसानहरू चिन्तित बनेका छन्।

भत्कुरीका विभिन्न क्षेत्रमा किसानहरूले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन्। यस वर्ष बोटमा पर्याप्त फल लागेपछि उत्पादन बढ्ने अपेक्षा गरिएको छ। तर उत्पादित सुन्तला बजारसम्म पुर्‍याउन सहज नहुँदा किसानहरू समस्यामा परेका छन्।

गाउँबाट बजारसम्म पुग्ने सडकको अवस्था कमजोर हुँदा सुन्तला ढुवानी गर्न कठिनाइ भइरहेको छ। सडकको असुविधाका कारण समयमै उत्पादन बजारसम्म पुर्‍याउन नसक्दा सुन्तला बिग्रिने र उचित मूल्य नपाउने चिन्ता किसानहरूमा बढेको छ।

वर्षभरि गरेको मेहनतले राम्रो उत्पादन दिए पनि बजार व्यवस्थापन र सडकको समस्याका कारण अपेक्षित आम्दानी लिन नसकिने स्थानीय पुरन बिष्टको गुनासो रहेकोछ।

किसानहरूले सम्बन्धित निकायसँग सडक स्तरोन्नति गर्न, सुन्तलाको उचित बजार व्यवस्थापन गर्न तथा कृषि उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्। भत्कुरीमा सुन्तला खेतीको प्रशस्त सम्भावना रहेकाले स्थानीय सरकारले आवश्यक सहयोग, सडक पूर्वाधार विकास र बजार व्यवस्थापनमा ध्यान दिन सके किसानको आयआर्जन बढाउनुका साथै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने देखिन्छ।

प्रकाशित मिति : २०८३ मंसिर १ गते मंगलबार