पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा उनी बिहीबार आफैँ अदालतमा हाजिर भएका थिए ।
न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्न आदेश दिइएको हो । साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरुद्ध सोमबार मुद्दा दायर गरेको थियो ।
‘साइबर ब्युरो ५९’ का नाममा परेको जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा पाठकविरुद्ध एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरिएको थियो ।
निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टन होटलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। आरजु राणा पुत्र जयवीर देउवाको पैसा’ भन्ने शीर्षक राखेर सामग्री प्रसारण गरी आफूविरुद्ध घृणा, द्वेष फैलाएर चरित्रहत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए ।
+ There are no comments
Add yours