- दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत जिम्न्यास्टिकको दोस्रो चरण सुरु भएको छ। कम्पिटिसन–२ अलराउन्ड विधामा नौ टोलीका ९० खेलाडी प्रतिस्पर्धामा छन्।

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकतर्फ दोस्रो चरणका प्रतिस्पर्धा सुरु भएका छन्। वीरेन्द्रनगरस्थित मिनी कभर्डहलमा जारी प्रतियोगितामा महिला तथा पुरुष खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन्।
बिहीबार र शुक्रबार फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायत विधाका पहिलो चरणका खेल सम्पन्न भएपछि खेलाडीहरू दोस्रो चरणमा प्रवेश गरेका हुन्।
जिम्न्यास्टिकका मुख्य प्रशिक्षक सुदेशसागर जोशीका अनुसार अधिकांश खेलाडीले प्रारम्भिक चरणको प्रतिस्पर्धा पूरा गरी दोस्रो चरणमा स्थान बनाएका छन्। तीन चरणमा सञ्चालन हुने प्रतियोगिताको कम्पिटिसन–२ (अलराउन्ड) विधामा ४२ महिला र ४८ पुरुष गरी कुल ९० खेलाडी प्रतिस्पर्धामा छन्।
प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, बागमती, लुम्बिनी, गण्डकी र कोशी प्रदेशसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाली सेनाका गरी नौ टोली सहभागी छन्।
कर्णाली प्रदेशबाट एक जना मात्रै खेलाडी सहभागी भएका कारण प्रदेशले प्रतियोगितामा टोलीगत सहभागिता जनाएको छैन। प्रतियोगितामा खेलाडीहरूले विभिन्न विधामार्फत आफ्नो कौशल, शारीरिक सन्तुलन र प्रदर्शन क्षमता प्रस्तुत गरिरहेका छन्।
प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताए।
उनले खेल पूर्वाधार निर्माण, नियमित प्रतियोगिता र व्यावसायिक खेलको विस्तारमार्फत खेल क्षेत्रको विकास गरिने बताए। प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रममार्फत खेल क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले दशौँ राष्ट्रिय खेलकुदले नयाँ प्रतिभा पहिचान गर्न र प्रदेशस्तरमा खेल पूर्वाधार विकास गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरे।





