२०८३ मंसिर ११ , शुक्रबार
दशौँ राष्ट्रिय खेलकुद २०८३

पुरुष क्रिकेटमा मधेश प्रदेशसँग नेपाल पुलिस क्लब २९ रनले पराजित

मधेशको १६६ रनको चुनौती पछ्याउँदै पुलिस २९ रनले पराजित, राशिद खानको ४१ रन अपर्याप्त


समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • दशौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा नेपाल पुलिस क्लब मधेश प्रदेशसँग २९ रनले पराजित भएको छ। सन्तोष कार्कीको ६० रन र विवेक यादवको अविजित ३७ रनमा मधेश विजयी बन्यो।

 

सुर्खेत — दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लब मधेश प्रदेशसँग पराजित भएको छ। शुक्रबार कालुन्चोक मैदानमा भएको प्रतियोगिताको चौथो खेलमा मधेश प्रदेशसँग २९ रनको हार व्यहोर्दै पुलिस पहिलो खेलमै निराश बनेको हो।

टस जितेर पहिला फिल्डिङ रोजेको पुलिसविरुद्ध मधेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रनको प्रतिस्पर्धात्मक स्कोर खडा गर्‍यो। मधेशका लागि सन्तोष कार्कीले ४२ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६० रन बनाए। त्यस्तै विवेक कुमार यादवले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४ छक्का र १ चौकासहित अविजित ३७ रन जोडे। पवन सर्राफले २१ बलमा अविजित २३ रन बनाए भने मयन यादवले १९ रनको योगदान दिएपछि मधेशले १६७ रनको लक्ष्य प्रस्तुत गर्‍यो।

बलिङतर्फ नेपाल पुलिस क्लबका राशिद खानले १ विकेट लिए। चन्द्रकान्त पौडेल, दीपक सेरला र श्रवण यादवले पनि समान १–१ विकेट हात पारे।

जवाफी ब्याटिङमा उत्रिएको विभागीय टोली पुलिसका लागि तेस्रो नम्बरका ब्याट्सम्यान राशिद खानले २९ बलमा ३ चौका र ३ छक्कासहित ४१ रन जोडे पनि जितका लागि पर्याप्त भएन। ओपनरद्वय अमित श्रेष्ठ ६ र शंकर राना ९ रन बनाउँदै आउट भएपछि दबाबमा परेको पुलिसका लागि मध्यक्रम पनि चल्न सकेन। दिलिप नाथले १४, श्रवण यादवले १६, चन्द्रकान्त पौडेलले १९ र सागर ढकालले १० रन मात्र बनाउन सके।

मधेशको बलिङमा ४ ओभर बलिङ गरेका अरनिकोप्रसाद यादवले २९ रन खर्चेर ३ विकेट लिए। रुपेशकुमार सिंह र अभिषेक तिवारीले समान २–२ विकेट हात पारे।

प्रकाशित मिति : २०८३ मंसिर ११ गते शुक्रबार