- दशौँ राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई २–० गोलले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ। शुक्रबार भएको खेलमा आर्मीले बागमती प्रदेशलाई २–० गोलले पराजित गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६४औँ मिनेटमा लाकेन लिम्बुले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। अतिरिक्त खेलाडीका रूपमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले खेलको ९७औँ मिनेटमा दोस्रो गोल थप्दै आर्मीको जित सुनिश्चित गरे।
खेलमा दुवै टोलीका पाँच खेलाडीले पहेँलो कार्ड पाएका थिए। आर्मीका लाकेन लिम्बुले १२औँ, अनुभव पुरीले ३९औँ र विमल पाण्डेले ९२औँ मिनेटमा पहेँलो कार्ड पाए। त्यस्तै, बागमतीका रोनिस राजबाहकले ८८औँ र भुवन कामीले ९२औँ मिनेटमा पहेँलो कार्ड पाएका थिए। म्याच कमिसनर वीरेन्द्र पाण्डेका अनुसार खेलमा पाँच पहेँलो कार्ड देखाइएको थियो।
यस जितसँगै आर्मीले दुई खेलबाट ६ अंक जोडेको छ। यसअघि आर्मीले लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो। पहिलो खेलमा कोशी प्रदेशसँग बराबरी खेलेको बागमतीको भने एक अंक रहेको छ।
प्रतियोगिताअन्तर्गत शनिबार बिहान सुदूरपश्चिम प्रदेश र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन्।






