- दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फूल कोर्ट र थ्री बाइ थ्री विधामा समान चार गरी आठ टोली सेमिफाइनलमा प्रवेश गरेका छन्।

सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलका दुई विधामा गरी ८ टोली सेमिफाइनलमा प्रवेश गरेका छन्। फूल कोर्ट (५×५) र थ्री बाइ थ्री (३×३) विधाबाट समान चार–चार टोली अन्तिम चारमा पुगेका हुन्। दुवै विधामा गरी आठ टोली प्रतियोगिताबाट बाहिरिएका छन्।
बास्केटबलका राष्ट्रिय सिनियर रेफ्री राजेश महर्जनका अनुसार फूल कोर्ट (५×५) तर्फ एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।
त्यस्तै, थ्री बाइ थ्री (३×३) तर्फ नेपाल आर्मी, बागमती प्रदेश, एपीएफ क्लब र कर्णाली प्रदेशले सेमिफाइनलमा स्थान बनाएका छन्।
शुक्रबार सम्पन्न क्वार्टरफाइनल खेलमा फूल कोर्ट (५×५) तर्फ एपीएफ क्लबले गण्डकी प्रदेशलाई ७९–१२ अंकले पराजित गरेको छ। सुदूरपश्चिम प्रदेशले लुम्बिनीलाई ३९–१६, नेपाल पुलिसले कोशी प्रदेशलाई ५५–४० र त्रिभुवन आर्मीले बागमती प्रदेशलाई ६७–२० अंकले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन्।
त्यस्तै, थ्री बाइ थ्री (३×३) तर्फ त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई १९–६ अंकले पराजित गरेको छ। बागमतीले लुम्बिनीलाई १४–१०, एपीएफले सुदूरपश्चिमलाई १३–७ र कर्णालीले नेपाल पुलिसलाई १७–८ अंकले हराउँदै अन्तिम चारमा प्रवेश गरेका छन्।
यससँगै फूल कोर्ट (५×५) तर्फ गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन्। थ्री बाइ थ्री (३×३) तर्फ भने गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र नेपाल पुलिस प्रतियोगिताबाट बाहिरिएका छन्।






