कर्णाली प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा गरिएको छ । कर्णाली प्रदेशका ५९ महिनासम्मका बालबालिकासहित खोप लगाउन छुटेका तथा खोप नलगाएका एक लाखभन्दा बढी बालबालिकाले खोप लगाएपछि बिहीबार कर्णालीलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा गरिएको हो ।
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, परिवार कल्याण महाशाखा काठमाडौँका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमलगायतको उपस्थितिमा पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा गरिएको हो । कर्णाली प्रदेशका १५ महिनासम्मका ३१ हजार २४३ जना, १६ महिनादेखि ५९ महिनासम्मका ७० हजार ५४९ जना, शून्य डोजका १५ महिनासम्मका आठ जना, १५ महिनासम्मका खोप लगाउन छुटेका १९२ जनाले खोप लगाएका छन् । १६ महिनादेखि ५९ महिनासम्मका शून्य डोजका १८ जना र १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका ५८६ जना गरी कुल एक लाख दुई हजार ५९६ जना बालबालिका खोपको पहुँचमा आएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणा गरिएको हो ।
स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले नियमित खोप लगाउनेका साथै खोपै नलगाएका र खोप लगाउन छुटेका बालबालिकासमेत खोपको पहुँचमा आएको बताए । उनले कर्णालीमा शून्य डोज र खोप छुटेका ८०४ जना नयाँ बालबालिका पनि खोपको सम्पर्कमा आउन सफल भएको जनाए । एक वर्षभित्र घर घरमा खोजी गरेपछि ती सङ्ख्या फेला पारी उनीहरूलाई पनि सबै खोप लगाइएको निर्देशक डा. खड्काको भनाइ छ । कर्णालीमा सबैभन्दा धेरै खोप छुट भएका १७५ जना, रुकुममा १०५ जना रहेको र हुम्ला, जुम्ला, मुगु, जाजरकोट र डोल्पामा शून्य डोजका बालबालिका नभएको जानकारी उनले दिए । कर्णालीमा सबैभन्दा पहिला सल्यान जिल्ला गत असार १९ गते र सबैभन्दा पछि डोल्पा असार ३० गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएका थिए । उनले प्रदेशका सबै जिल्लाका १३ प्रकारका खोप पाउनुपर्ने सबै बालबालिकाले खोप पाएको दाबी पनि गरे ।
सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिए पनि यसको दिगोपनामा चुनौती देखिएको बताए । उनले कर्णालीमा कामको सिलसिलामा अभिभावक भारततिर बालबालिकासहित जाने भएकाले उनीहरू खोप पाउनबाट वञ्चित हुनसक्ने अवस्था रहे पनि महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहलगायतको मेहनतले उनीहरू खोपको पहुँचमा आउन सफल भएकोमा खुसी प्रकट गरे । उनले खोप पाउनबाट कुनै पनि बालबालिका छुट्न नहुनेतर्फ सचेत रहन पनि स्वास्थ्यकर्मी तथा चिकित्सकलाई आग्रह गरे । कर्णालीको स्वास्थ्य क्षेत्रको सुधार हुने प्रमुख कदम खोप कार्यक्रम भएको हुँदा आगामी दिनमा खोपको दिगोपनालाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।
परिवार कल्याण महाशाखा काठमाडौँका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको जानकारी दिँदै त्यसमा खोप कार्यक्रमको योगदान पनि रहेको उल्लेख गरे । उनले कर्णाली पूर्ण खोप प्रदेश घोषणामा चौथो प्रदेश रहेको र अब तीन वटा प्रदेश बाँकी रहेको जानकारी दिए । उनले ८० प्रतिशत मृत्युदर घटाउन खोप कार्यक्रमले ६० प्रतिशत योगदान दिएको भन्दै शून्य डोज र छुटेका खोप लगाउने बालबालिका खोज्ने कार्यमा पनि नेपालले उल्लेख्य सुधार गरेको बताए ।

सामाजिक विकास मन्त्रालयका सचिव एवं प्रदेश खोप समन्वय समितिको सचिवालयका संयोजक धोलकराज ढकालले कर्णालीको स्वास्थ्य क्षेत्रमा सुधार आएको दाबी गरे । सन् २००१ मा कर्णालीमा खोप पूर्णता ६५.६ प्रतिशत रहेकोमा सन् २०२५ मा ८४ प्रतिशत पुगेको, सन् १९९० मा बालमृत्यु दर प्रतिहजारमा १३८ जना रहेकोमा सन् २०२० मा २८.२ प्रतिशतमा झरेको उनले बताए । सचिव ढकालले खोपमा गरिएको खर्च लगानी भएको बताउँदै कर्णालीको स्वास्थ्यमा सुधार आउनुमा खोप कार्यक्रम पनि प्रमुख भएको जिकिर गरे । कार्यक्रममा नगरपालिका सङ्घ कर्णालीका अध्यक्ष एवं गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुन, जिल्ला समन्वय समितिका उपप्रमुख सचिन बडुवाललगायतले पूर्ण खोप सुनिश्चित तथा दिगोपना प्रदेश घोषणामा खटिने सबैलाई धन्यवाद व्यक्त गरे ।

.jpg)
Leave a Reply