२०८३ मंसिर ११ , शुक्रबार
सम्पादकीय

कृषि बीमामा किसानको भरोसा बढाउ



कृषि क्षेत्रलाई प्राकृतिक विपत्ति, रोगव्याधि तथा अन्य जोखिमबाट सुरक्षित राख्न सरकारले कृषि बीमाको प्रिमियममा अनुदान दिँदै आएको छ । तर, सरकारी अनुदानको व्यवस्था हुँदाहुँदै पनि बाली बीमामा किसानको सहभागिता अत्यन्त न्यून हुनु चिन्ताको विषय हो । कृषि बीमाको उद्देश्य किसानलाई सम्भावित क्षतिबाट आर्थिक सुरक्षा प्रदान गर्नु हो । तर, यसको लाभ लक्षित वर्गसम्म पुग्न नसक्नुले सरकारी नीति र कार्यान्वयनबीचको खाडल उजागर गरेको छ । सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म पाँच वर्षमा बालीतर्फ २८ हजार ९४६ र पशुपन्छी तथा मत्स्यतर्फ ६ लाख ७५ हजार ९१८ बीमालेख जारी भएका छन् । अर्थात् पशुपन्छी तथा मत्स्य बीमाको तुलनामा बाली बीमाको पहुँच २३ गुणाभन्दा बढी कमजोर छ । अझ पछिल्ला दुई वर्षमा बाली बीमालेखको संख्या उल्लेख्य रूपमा घट्नुले यसको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ ।

कर्णाली प्रदेशको अवस्था झनै निराशाजनक छ । प्रदेशका १० जिल्लामध्ये आर्थिक वर्ष २०८२/८३ को चैतसम्म चार जिल्लामा मात्रै १६ वटा बाली बीमालेख जारी भएका छन् । जुम्ला, हुम्ला, दैलेख, मुगु, डोल्पा र सल्यानमा बाली बीमाको पहुँच नै पुगेको छैन । कृषि तथा पशुपालनमा निर्भर ठूलो जनसंख्या रहेको कर्णालीमा बीमाको यस्तो कमजोर अवस्थाले किसानलाई जोखिमको भरमा खेती गर्न बाध्य बनाएको छ । यसको एउटा प्रमुख कारण बीमा प्रणालीप्रतिको किसानको कमजोर पहुँच, पर्याप्त जानकारीको अभाव र प्रक्रियागत जटिलता हुन सक्छन् । अर्कोतर्फ, बालीमा हुने क्षतिको मूल्यांकन तथा प्रमाणीकरण कठिन हुने भएकाले बीमा कम्पनीको प्राथमिकतामा पशुपन्छी बीमा पर्ने गरेको तथ्यले पनि समस्या थप जटिल बनाएको छ । अनुदान उपलब्ध गराउँदैमा बीमा कार्यक्रम सफल हुँदैन, त्यसका लागि किसानको विश्वास जित्न सक्नुपर्छ ।

सरकारले नयाँ कार्यविधिमार्फत कृषि बीमाको अनुदान कार्यान्वयन गर्ने जिम्मेवारी प्रदेश सरकारलाई दिएको छ । यो अवसरसँगै चुनौती पनि हो । अब प्रदेश सरकारले बजेट विनियोजन र कागजी कार्यक्रममै सीमित नभई किसानको खेतबारीसम्म बीमाको पहुँच विस्तार गर्नुपर्छ । स्थानीय तह, कृषि ज्ञान केन्द्र, बीमा कम्पनी र किसानबीच प्रभावकारी समन्वय आवश्यक छ । कृषि बीमा किसानका लागि सरकारी अनुदान प्राप्त गर्ने माध्यम मात्र होइन, उत्पादन र जीविकोपार्जन सुरक्षित गर्ने आधार हो । त्यसैले बीमालेखको संख्या बढाउनेभन्दा पनि वास्तविक किसानलाई सहज रूपमा बीमामा आबद्ध गराउने, क्षति हुँदा समयमै दाबी भुक्तानी गर्ने र प्रक्रियालाई पारदर्शी बनाउनेतर्फ सरकारको ध्यान जानुपर्छ । विशेषगरी कर्णालीका बीमा पहुँच नपुगेका जिल्लालाई प्राथमिकतामा राख्नुपर्छ । अन्यथा, अनुदानमा ठूलो रकम खर्च भइरहने तर जोखिमको समयमा किसान एक्लै पर्ने विडम्बना अन्त्य हुने छैन ।

प्रकाशित मिति : २०८३ मंसिर ११ गते शुक्रबार