२०८३ मंसिर १० , बिहीबार

सुदूरपश्चिमलाई हराएको मधेस एपीएफसँग पराजित, ३–१ गोलको जित



सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न पुरुष फुटबलको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएको छ। एपीएफले मधेस प्रदेशलाई ३–१ गोलले पराजित गरेको हो।

पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई हराएको मधेसले दोस्रो खेलमा भने एपीएफसँग हार व्यहोरेको छ।

एपीएफका लागि युवराज खड्काले खेलको ३०औँ मिनेटमा पहिलो गोल गरेका थिए। पहिलो हाफको अतिरिक्त समयमा (४७औँ मिनेट) समुन श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर बनाए। त्यस्तै, दोस्रो हाफको अतिरिक्त समय (९८औँ मिनेट) मा डिसन राईले तेस्रो गोल गरे।

मधेसका लागि दोस्रो हाफको अतिरिक्त समय (९२औँ मिनेट) मा दीपेन्द्र विकले एक गोल फर्काए। खेलको ६७औँ मिनेटमा मधेसका गोलरक्षक युनिस चौधरीले डी–एरियाबाहिर हातले बल छोएपछि रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए। त्यसपछि मधेस १० खेलाडीमा सीमित भएको थियो। खेलमा एपीएफका सन्तोष खत्री तथा मधेसका क्षितिज भण्डारी र हेमन्त भुजेलले पहेँलो कार्ड पाएका थिए।

आफ्नो समूहमा दुई खेल खेलेको मधेसले एक खेलमा जित र एकमा हार व्यहोरेको छ। एपीएफ र सुदूरपश्चिमबीचको खेलको नतिजाका आधारमा मधेस अर्को चरणमा पुग्ने वा नपुग्ने टुंगो लाग्ने म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिएका छन्।

यसैबीच, शुक्रबार दुई खेल हुनेछन्। बिहान ९ बजे लुम्बिनी प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो २ः३० बजे बागमती प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ।

प्रकाशित मिति : २०८३ मंसिर १० गते बिहीबार