२०८३ मंसिर ११ , शुक्रबार
१०औँ राष्ट्रिय खेलकुद

क्रिकेटमा कर्णालीको पहिलो जित, फुटबलमा निराशा

महिला क्रिकेटमा मधेशसँग हारेपछि लुम्बिनी बाहिरियो, बागमती सेमिफाइनलमा प्रवेश


सुर्खेत । सुर्खेतमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहीबारको प्रतिस्पर्धामा कर्णाली प्रदेशले पुरुष क्रिकेटमा पहिलो जित निकाल्दा पुरुष फुटबलमा भने लिग चरणबाटै बाहिरिएको छ । यता महिला क्रिकेटमा मधेश प्रदेशले लुम्बिनीलाई पराजित गर्दै प्रतियोगिताबाट बाहिर पठाएको छ भने बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा गण्डकी प्रदेशले आयोजक कर्णालीलाई ५–० गोलअन्तरले पराजित गरेको छ । लगातार दोस्रो हारसँगै कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । यसअघि उद्घाटन खेलमा कर्णाली नेपाल पुलिस क्लबसँग ३–० ले पराजित भएको थियो ।

गण्डकीको जितमा आशिष गुरुङले दुई तथा लछु थापा, सुदीप गुरुङ र टेकराज गुरुङले समान एक गोल गरे । खेलको १६औँ मिनेटमा लछुले गोल गर्दै गण्डकीलाई अग्रता दिलाएका थिए । आशिषले २५औँ र ३३औँ मिनेटमा गोल थपेपछि पहिलो हाफमै गण्डकी ३–० ले अघि रह्यो । दोस्रो हाफको ५७औँ मिनेटमा सुदीप र अतिरिक्त समयको चौथो मिनेटमा टेकराजले गोल गर्दै जित सुनिश्चित गरे ।

क्रिकेटमा कर्णालीको पहिलो जित

अन्य खेलमा निराशाजनक नतिजा भोगिरहेको कर्णालीले पुरुष क्रिकेटमा भने सुखद सुरुवात गरेको छ । कालुञ्चोक क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य कर्णालीले १३ ओभर तीन बलमा चार विकेट गुमाएर पूरा ग¥यो । कर्णालीको जितमा विपिन रावलले ३५ बलमा ६० रनको आक्रामक पारी खेले ।

दिनेश अधिकारीले १५ तथा मनिष थापा र कप्तान रविन्द्रजंग शाहीले समान १३ रन बनाए । यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा आठ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । उसका लागि अभिषेक पालले २८ र दीपक बोहराले १८ रन जोडे । कर्णालीका दिवान पुन, राजकुमार साह र दिनेश अधिकारीले समान दुई विकेट लिए ।

महिला क्रिकेटमा लुम्बिनी बाहिरियो, बागमती अन्तिम चारमा

महिला क्रिकेटमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । बिहीबार वीरेन्द्रनगर क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको ८० रनको लक्ष्य मधेशले १२ ओभर चार बलमा पाँच विकेट गुमाएर पूरा ग¥यो । लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ७९ रन बनाएको थियो । उसका लागि ऋतु रावलले अविजित ४१ र सीमा थापाले १० रन बनाइन् । मधेशकी सुस्मिता यादवले चार तथा रोजी कडारीले दुई विकेट लिइन् ।

जवाफी ब्याटिङमा मधेशकी एलिषा यादवले ३६ बलमा ४२ रन बनाउँदै जितको आधार तयार गरिन् । कप्तान पूजा महतोले १५ रनको योगदान दिइन् । मधेशकी सुस्मिता यादव प्लेयर अफ द म्याच घोषित भइन् । लगातार दुई खेलमा पराजित भएपछि लुम्बिनी समूह चरणबाटै बाहिरिएको छ ।

यस्तै महिला क्रिकेटकै अर्को खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । गण्डकीले दिएको १११ रनको लक्ष्य बागमतीले १७ ओभर पाँच बलमा दुई विकेट गुमाएर पूरा ग¥यो । बागमतीकी विपिशा शाहीले अविजित ५० रन बनाइन् भने हिलिशा गुरुङले २७ रन जोडिन् । यसअघि ब्याटिङ गरेको गण्डकीले सबै विकेट गुमाएर ११० रन बनाएको थियो ।

फुटबलमा एपीएफको जित, मधेश दबाबमा

पुरुष फुटबलतर्फ बिहीबार भएको अर्को खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले मधेश प्रदेशलाई ३–१ गोलअन्तरले पराजित गरेको छ । एपीएफका युवराज खड्काले ३०औँ, समुन श्रेष्ठले पहिलो हाफको अतिरिक्त समय र डिसन राईले दोस्रो हाफको अतिरिक्त समयको ९८औँ मिनेटमा गोल गरे । मधेशका दीपेन्द्र विकले ९२औँ मिनेटमा एक गोल फर्काए ।

खेलको ६७औँ मिनेटमा मधेशका गोलरक्षक युनिस चौधरीले डी एरियाबाहिर हातले बल छोएपछि रातो कार्ड पाए । त्यसपछि मधेश १० खेलाडीमा सीमित भएको थियो । दुई खेल खेलेको मधेशले एक जित र एक हार बेहोरेको छ ।

जिम्न्यास्टिकमा ९० खेलाडीको प्रतिस्पर्धा

प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकका प्रारम्भिक चरणका खेल पनि बिहीबारदेखि सुरु भएका छन् । वीरेन्द्रनगरस्थित मिनी कभर्ड हलमा सुरु भएको प्रतिस्पर्धामा महिलातर्फ ४२ र पुरुषतर्फ ४८ गरी ९० खेलाडी सहभागी छन् । मुख्य प्रशिक्षक सुदेशसागर जोशीका अनुसार प्रतियोगिता तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा कम्पिटिसन–१, दोस्रोमा कम्पिटिसन–२ (अलराउन्ड) र अन्तिममा कम्पिटिसन–३ (एपरेटस फाइनल) का खेल हुनेछन् । प्रतियोगितामा प्रदेशका टोलीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका खेलाडी सहभागी छन् । कर्णालीका तर्फबाट भने एक जना पुरुष खेलाडीले मात्रै व्यक्तिगत विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।

महिला बास्केटबलमा १६ टोली क्वार्टरफाइनलमा

महिला बास्केटबलतर्फ दुई विधाका गरी १६ टोली क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । फूल कोर्ट (५×५) र (३×३) विधाबाट आठ–आठ टोली अन्तिम आठमा पुगेका हुन् । दुवै विधामा गरी चार टोली प्रतियोगिताबाट बाहिरिएका छन् । फूल कोर्टतर्फ एपीएफ, गण्डकी, सुदूरपश्चिम, लुम्बिनी, कोशी, बागमती, नेपाल पुलिस र नेपाल आर्मी क्वार्टरफाइनलमा पुगेका छन् । यस विधामा कर्णाली र मधेश बाहिरिएका छन् । त्यस्तै, ३×३ विधातर्फ नेपाल आर्मी, गण्डकी, बागमती, लुम्बिनी, सुदूरपश्चिम, एपीएफ, नेपाल पुलिस र कर्णाली अन्तिम आठमा पुगेका छन् । यस विधामा कोशी र मधेश बाहिरिएका छन् ।

बिहीबारको खेलमा फूल कोर्टतर्फ एपीएफले कर्णालीलाई ६७–१९, बागमतीले मधेशलाई ४३–५, गण्डकीले कोशीलाई ३३–७ र नेपाल आर्मीले लुम्बिनीलाई ८०–२ अंकले पराजित गरे । ३×३ विधामा एपीएफले कोशीलाई १२–५, कर्णालीले मधेशलाई १६–१, सुदूरपश्चिमले गण्डकीलाई ८–४ र नेपाल पुलिसले लुम्बिनीलाई ५–१ अंकले हराए । क्वार्टरफाइनलका खेल शुक्रबारदेखि सुरु हुनेछन् ।

प्रकाशित मिति : २०८३ मंसिर ११ गते शुक्रबार