सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षका विकास आयोजनाको कार्यान्वयन गति बढाउन सकेको छैन । आर्थिक वर्ष सुरु भएको चार महिना बितिसक्दा पनि प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले अधिकांश आयोजनालाई ठेक्का प्रक्रियामै लैजान सकेको छैन । जसका कारण विकास निर्माणका काम प्रभावित हुनुका साथै पुँजीगत खर्चसमेत निराशाजनक देखिएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा कार्यान्वयन गर्नुपर्ने नयाँ तथा स्रोत सहमति लिएर ठेक्का लगाउनुपर्ने गरी कुल पाँच सय २८ वटा आयोजना छन् । तर, हालसम्म १२ वटा आयोजना मात्रै ठेक्का प्रक्रियामा प्रवेश गरेका छन् । यो कुल आयोजनाको करिब २.३ प्रतिशत मात्रै हो । अझ स्रोत सहमति लिएर कार्यान्वयन गर्नुपर्ने एउटा पनि आयोजना अघि बढ्न सकेको छैन ।
मन्त्रालयअन्तर्गत यस वर्ष चार सय २२ वटा नयाँ आयोजना कार्यान्वयन गर्नुपर्ने छन् । त्यस्तै, स्रोत सहमति लिएर ठेक्का लगाउनुपर्ने एक सय आठ वटा आयोजना छन् । नयाँ आयोजनामध्ये तीन सय ८५ वटा सडक निर्माणसँग सम्बन्धित छन् । यसबाहेक दुई वटा मोटरेबल पुल, तीन वटा झोलुङ्गे पुल, सरकारी भवन, आवास तथा सामुदायिक भवनतर्फ १४ वटा र सडक तथा अन्य पूर्वाधारको नियमित एवं आकस्मिक मर्मततर्फ १८ वटा आयोजना रहेका छन् ।
तर, यी योजनाको कार्यान्वयन प्रक्रिया अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । हालसम्म ठेक्का प्रक्रियामा गएका १२ आयोजनामध्ये सडक निर्माणतर्फ आठ र मर्मत तथा सरकारी भवनतर्फ चार वटा छन् ।
जिल्लागत विवरण हेर्दा विकास आयोजनाको कार्यान्वयन अवस्था झनै कमजोर देखिन्छ । नयाँ कार्यान्वयनमा लैजानुपर्ने आयोजनामध्ये सुर्खेतमा ८३, दैलेखमा ५६, सल्यानमा २७, कालिकोटमा ३६, मुगुमा १८, डोल्पामा ६४ र जुम्लामा २८ वटा छन् । यस्तै, रुकुम पश्चिममा ३२, जाजरकोटमा ५४ र हुम्लामा २४ वटा आयोजना छन् ।
यीमध्ये कालिकोटमा नौ, सुर्खेतमा दुई र हुम्लामा एउटा मात्रै आयोजना ठेक्का प्रक्रियामा गएको छ । बाँकी सात जिल्लामा एउटा पनि आयोजना ठेक्का प्रक्रियामा प्रवेश गर्न सकेका छैनन् । यसले जिल्लास्थित पूर्वाधार विकास कार्यालयहरूको कार्यसम्पादनमाथि समेत प्रश्न उठाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रेमबहादुर ओलीले विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) का कारण ठेक्का प्रक्रिया प्रभावित भएको बताए । उनका अनुसार कतिपय कार्यालयले ठेक्का
प्रक्रियामा लैजान आवश्यक तयारी पूरा गरे पनि प्रणालीगत समस्याले काम अघि बढ्न सकेको छैन । अबको १५ देखि २० दिनभित्र दुई सयदेखि दुई सय ५० वटासम्म ठेक्का खुल्ने उनको दाबी छ । भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले पनि ई–बिडिङ प्रणालीकै कारण ढिलाइ भएको बताइन् । योजनाबाट प्रतिफल देखिने गरी काम गर्ने तयारी गर्दा केही समय लागेको उनको भनाइ छ ।
यद्यपि, प्रदेश सरकारले आफैँले तय गरेको कार्यतालिकासमेत पालना गर्न सकेको देखिँदैन । सरकारले यसअघि असोज मसान्तभित्र र पछिल्लो पटक कात्तिक मसान्तसम्म चालु आर्थिक वर्षका सबै आयोजना कार्यान्वयन प्रक्रिया सुरु गरिसक्ने नीति लिएको थियो । मुख्यमन्त्री र मन्त्रीबीच तथा मन्त्री र कर्मचारीबीच भएका कार्यसम्पादन करार सम्झौतामा समेत आयोजना कार्यान्वयनलाई प्राथमिकता दिइएको छ । तर, व्यवहारमा भने ती प्रतिबद्धता कार्यान्वयन हुन सकेका छैनन् ।
आयोजना कार्यान्वयनमा देखिएको सुस्तताको असर बजेट खर्चमा पनि परेको छ । प्रदेशको कुल ३५ अर्ब ३९ करोड रुपैयाँ बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयसँग छ । मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १० अर्ब ९३ करोड २१ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसमध्ये विकास बजेट मात्रै १० अर्ब ५९ करोड रुपैयाँ छ ।
तर, कात्तिक मसान्तसम्म मन्त्रालयले कुल बजेटको ६.८८ प्रतिशत मात्रै खर्च गरेको छ । विकास बजेटतर्फको खर्च झनै कमजोर छ । विनियोजित विकास बजेटमध्ये ६.४४ प्रतिशत अर्थात् ६८ करोड २१ लाख रुपैयाँ मात्रै खर्च भएको छ । असोज मसान्तसम्म विकास बजेट खर्च ६० करोड ७७ लाख रुपैयाँ थियो । एक महिनाको अवधिमा विकास खर्चमा भएको वृद्धि पनि अपेक्षाकृत देखिँदैन । यता चालुतर्फ भने २०.६१ प्रतिशत बजेट खर्च भइसकेको छ ।
गत आर्थिक वर्षको तुलनामा यस वर्षको कार्यसम्पादन अझ कमजोर देखिएको छ । गत वर्ष पाँच सय १२ वटा नयाँ आयोजना छनोट गरिएकामा कात्तिक मसान्तसम्म दुई सय ४५ वटा आयोजनाको ठेक्का लागिसकेको थियो । तर, यस वर्ष सोही अवधिमा १२ वटा मात्रै आयोजना ठेक्का प्रक्रियामा पुगेका छन् ।
प्रदेश सरकारको विकास बजेटको ठूलो हिस्सा ओगट्ने मन्त्रालयमै आयोजना कार्यान्वयनको यस्तो सुस्तताले समग्र प्रदेशको विकास गतिमै असर पार्ने देखिन्छ । आर्थिक वर्षको सुरुवातमै ठेक्का प्रक्रिया अघि बढाउन नसक्दा पछिल्ला महिनामा कामको चाप बढ्ने, निर्माण अवधि छोटिने र आर्थिक वर्षको अन्त्यमा हतारमा खर्च गर्ने प्रवृत्ति दोहोरिने जोखिम रहन्छ । त्यसैले ई–बिडिङ प्रणालीको समस्या समाधान गर्ने बहानामा मात्रै मन्त्रालयले जिम्मेवारीबाट पन्छिन मिल्दैन । समयमै ठेक्का आह्वान, सम्झौता र निर्माण कार्य सुरु गराउनु सरकार तथा मातहतका कार्यालयको मुख्य जिम्मेवारी हो ।





