जेनजी आन्दोलनमा सरकारको दमन भयो : संसदीय समिति

सुर्खेत


जेनजी युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको भन्दै संसदीय समितिका सदस्यहरुले दुख व्यक्त गरेका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै प्रदर्शनमा उत्रिएका युवाहरुले बलिदानी दिनुपरेको भन्दै समिति सदस्यहरुले दुख व्यक्त गरेका हुन् ।

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले ज्यान गुमाएका सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । समिति सभापति मायाप्रसाद शर्माले शान्तिपूर्ण रुपमा थालनी भएको प्रदर्शनमा समेत व्यक्तिको बलिदान हुन पुगेको बताए । ‘शान्तिपूर्ण रुपमा थालनी गरेको आन्दोलनमा बलिदानी भयो, सहादतप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं,’ सभापति शर्माले भने ।

समिति सदस्य नरबहादुर विष्टले जेनजी आन्दोलन सुशासन स्थापना गर्न र भ्रष्टाचार नियन्त्रण गर्नलाई भएको बताए । तर यसको दुरुपयोग हुन पुग्दा देश बर्षौं पछाडि पुग्ने गरी क्षति हुन पुगेको उनले बताए । अर्का सदस्य कृष्ण प्रसाद अधिकारीले जेनजी आन्दोलनमा सहिद भएकाले भ्रष्टाचार नियन्त्रण र शुसासन चाहेको बताए । ‘आन्दोलनमा युवामाथि ताकी ताकि गोली हान्ने काम भयो,’ उनले भने, ‘यसमा छानविन गरेर दोषीलाई कानुनको दायरामा ल्याउनुपर्छ, यसका लागि छिटोभन्दा छिटो न्यायिक आयोग गठन गरियोस् ।’

आन्दोलनका क्रममा भएको पुरातात्विक सम्पदाको क्षतिका बारेमा समितिले अध्ययन गरेर प्रतिवेदन तयार गर्नुपर्ने प्रस्ताव अधिकारीले राखेका छन् ।

समिति सदस्य सुमित्रा विसीले अन्तरिम सरकार बनेको र यो सरकारको मुख्य जिम्मेवारी आगामी फागुन २१ गतेको चुनाव गराउनु, जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माण सुरु गर्नु रहेको मुख्य जिम्मेवारी रहेको उनले बताइन् ।

अर्का सदस्य गोमादेवी तिमिल्सिनाले प्रतिनिधि सभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको काँधमा थुप्रै जिम्मेवारी रहेको बताइन् । ‘कतिपय कुरा मन चसक्क हुने गरी आइरहेको छ, देशलाई कसले के गर्न खोज्दै छ भन्ने हुन्छ,’ उनले प्रश्न गर्दै भनिन्, ‘आन्दोलनमा सकेसम्म गोली नै चलाउन नहुने हाम्रो कानुन छ, तर टाउको र छातीमा गोली चलेको छ । यो कसरी भयो होला ?’ अर्कातिर जेनजीले भ्रष्टाचार नियन्त्रण चाहेको तर उनीहरुले नचाहेको सार्वजनिक सम्पत्तिको क्षति हुन पुगेको उनले भएकाले यसबारे विस्तृत अनुसन्धान हुनुपर्ने उनले बताइन् ।

अन्य समाचार

+ There are no comments

Add yours