२०८३ कात्तिक २८ , शनिबार
फ्रन्ट पेज

हिंसाको चक्रमा महिला र बालबालिका, घरभित्रै असुरक्षा



सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायतका लागि आफ्नै घर सुरक्षित हुन सकेन । २०८२ चैतमा उनी आफ्ना दुई सन्तानसहित भेरी नदीमा मृत भेटिइन् । घटनाअघि उनले श्रीमानबाट कुटपिट र यातना भोग्दै आएको परिवारका सदस्यले बताए । उनका दाजु प्रेम गिरीका अनुसार अटो चलाउन थालेपछि श्रीमामनसँगको सम्बन्ध बिग्रिएको थियो । दशैँपछि राती ढिलो घर आउने, कुटपिट गर्नेलगायत कुरा मायाले आमालाई सुनाएकी थिइन् ।

मायाका काका अमरदेव गिरीका अनुसार घटनाअघि उनी काकाको घर पुगेकी थिइन् । त्यहाँ पनि श्रीमानले कुटपिट गरेको र घर किन नगएको भनेर सोध्दा आफूलाई कुटपिट गर्ने तथा खुकुरी देखाएर धम्क्याउने गरेको बताएकी थिइन् । परिवारलाई उनको पीडाबारे जानकारी भए पनि घरबार बिग्रने डरले समयमै हस्तक्षेप हुन सकेन । घटनापछि परिवारका सदस्यले श्रीमानविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएका थिए ।

मायाको घटना कर्णालीमा घरेलु हिंसाले महिलाको जीवनमा पारिरहेको गम्भीर असरको एउटा उदाहरण हो ।  मायाको घटनाले दैलेखकी सुकी बडुवालको दुःखद घटना पनि सम्झाउँछ । २०७७ फागुनमा आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी आफ्ना चार सन्तानसहित कर्णालीमा हाम फालिन् । घरेलु हिंसाका उपज भएको यो आत्महत्याको घटना विश्वले भुल्न नसक्ने घटनामध्ये एक घटना हो । सुकी र उनका तीन सन्तानको शव कर्णाली नदीमा भेटियो भने कान्छी छोरीको शव केही दिनपछि फेला परेको थियो । प्रहरीको अनुसन्धानमा श्रीमान्बाट हुने कुटपिट र घरेलु हिंसाको प्रसंग खुलेको थियो । एउटा घरभित्रको हिंसाले आमासँगै चार बालबालिकाको जीवनसमेत कसरी खोस्न सक्छ भन्ने यो घटना कर्णालीले कहिल्यै नबिर्सिने पीडा बनेको छ ।

घरभित्रको हिंसा महिलाको जीवनमा मात्रै सीमित रहँदैन । त्यसको असर उनीहरूसँगै आश्रित बालबालिकाको जीवन र मानसिक स्वास्थ्यमा समेत पर्छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार २०७८ सालदेखि २०८२/८३ सम्म प्रदेशमा १ हजार ३ सय ७५ जनाले आत्महत्या गरेका छन् । तीमध्ये ३ सय ७२ घटनाको कारण पारिवारिक कलह तथा श्रीमान्–श्रीमतीबीचको विवाद रहेको प्रहरीको विश्लेषण छ । आत्महत्याका घटनामा पारिवारिक असमझदारी र दाम्पत्य सम्बन्धको तनाव पनि जोडिएको यसले देखाउँछ ।

प्रहरीको तथ्याङ्कले घरेलु हिंसाको अवस्था पनि उत्तिकै गम्भीर रहेको देखाउँछ । पछिल्लो तीन वर्षमा कर्णालीका विभिन्न जिल्लामा ३ हजार ६ सय २१ घरेलु हिंसाका घटना दर्ता भएका छन् । यस अवधिमा श्रीमानबाटै २४ महिलाको हत्या भएको प्रहरीको विवरण छ । घरेलु हिंसाका घटनामा कुटपिट, गालीगलौज, घर निकाला, मानसिक तथा शारीरिक यातना, धम्की र यौनजन्य दुर्व्यवहारसमेत पर्ने गरेका छन् ।

हिंसाले लिइरहेको छ महिलाको ज्यान

घरेलु हिंसाका कारण महिलाले ज्यान गुमाएका घटना आत्महत्यामा मात्रै सीमित छैनन् । सुर्खेतको चौकुने गाउँपालिका–५ रेक्चाकी ३० वर्षीया चन्द्रा देवकोटा जैसीको हत्या गरेको आरोपमा उनका ३२ वर्षीय श्रीमान् गोपीराम जैसीलाई प्रहरीले २०८३ असोज ६ गते पक्राउ गरेको थियो । घरमै फरुवा प्रहार गरी हत्या गरेको स्थानीयको जानकारीपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

सुर्खेतकै पञ्चपुरी नगरपालिका–३ का अमरबहादुर आले मगरले केही वर्षअघि श्रीमती मीनाको हत्या गरेका थिए । वीरेन्द्रनगर–१० का दानसिंह ठाडाले पनि सुतेकै अवस्थामा श्रीमती रविना थापाको चिर्पट प्रहार गरी हत्या गरेका थिए । यी घटनाले घरेलु हिंसा सामान्य घरायसी झगडामा मात्रै सीमित नभएर महिलाको जीवनकै लागि खतरा बन्न सक्ने देखाउँछन् ।

कर्णाली प्रदेश प्रहरीका प्रवक्ता एसएसपी सन्तोषसिंह राठौर पछिल्लो समय मदिरा, लागूऔषध र घरेलु हिंसासँग जोडिएका घटना चिन्ताजनक रूपमा देखिएको बताउँछन् । पारिवारिक असमझदारी, दाम्पत्य विवादसँगै मदिरा तथा लागूऔषधको प्रयोगले हिंसालाई थप जटिल बनाइरहेको उनको भनाइ छ ।

उजुरी नपुग्ने हिंसाको अवस्था कति ?

घरेलु हिंसाका घटना प्रहरीमा दर्ता हुनु र वास्तविक रूपमा समाजमा भइरहेका घटनाको संख्या एउटै हुँदैन । विशेषगरी कर्णालीका ग्रामीण तथा दुर्गम बस्तीमा सामाजिक दबाब, पारिवारिक प्रतिष्ठाको डर र न्यायिक निकायसम्म सहज पहुँच नहुँदा धेरै घटना घर तथा समुदायभित्रै दबिने गरेका छन् ।

हुम्लामा सार्वजनिक भएको पछिल्लो विवरणले पनि यस समस्याको अर्को पाटो देखाउँछ । आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा जिल्ला प्रहरी कार्यालय हुम्लामा विभिन्न प्रकृतिका ४९ घटना दर्ता भएकामा ३० वटा घरेलु हिंसासँग सम्बन्धित थिए । यो दर्ता भएका घटनाको ६१ प्रतिशतभन्दा बढी हो ।

हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार महिलामाथि कुटपिट, घर निकाला, गालीगलौज तथा विभिन्न किसिमका दुर्व्यवहारका उजुरी आउने गरेका छन् । तर प्रहरीमा आएका उजुरीले जिल्लामा भइरहेको हिंसाको वास्तविक अवस्था नदेखाउने उनी बताउँछन् । उजुरी प्रहरीसम्म पुगेपछि समेत मिलापत्रका लागि दबाब आउने गरेको प्रहरीको भनाइ छ ।

आठबीस नगरपालिकाकी तत्कालीन उपप्रमुख तथा महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकी दिपा बोहोरा हिंसालाई परिवारभित्रको निजी मामिला ठान्ने सामाजिक मानसिकता परिवर्तन नभएसम्म यस्ता घटना रोक्न कठिन हुने बताउँछिन् । उनका अनुसार महिलाहरू आफ्नै घरभित्र असुरक्षित हुनु समाज र राज्य दुवैका लागि गम्भीर चुनौती हो ।

बालबालिकामा पनि पर्छ हिंसाको असर

घरेलु हिंसाले महिलालाई मात्रै प्रभावित गर्दैन । आमाले निरन्तर हिंसा भोगिरहेको देख्ने बालबालिकामा समेत गम्भीर मनोसामाजिक असर पर्न सक्छ । सुर्खेतको बराहताल गाउँपालिकाका ११ वर्षीय बालकले घरमा भइरहने झगडाका कारण आत्महत्या गरेका थिए । त्यस्तै, रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी आठ वर्षीया बालिका पनि घरभित्रै मृत भेटिएकी थिइन् । ती बालिकाको परिवारमा अभिभावकबीच निरन्तर झगडा हुने गरेको खुलेको थियो । सानै उमेरमा घरभित्रको तनाव र कलह सहनुपर्दा बालबालिकाको मनोविज्ञानमा कति गहिरो असर पर्छ भन्ने यी घटनाले देखाउँछन् ।

मध्यपश्चिम विश्वविद्यालयमा समाजशास्त्र विषयकी उपप्राध्यापक कमला तिवारीका अनुसार महिला र बालबालिकाले घरपरिवारमा आफूले अपेक्षा गरेको व्यवहार नपाउँदा मानसिक रुपमा विचलित हुन सक्छन् । निरन्तरको हिंसा र तनावले सही निर्णय लिन नसक्ने अवस्थामा पुर्‍याउन सक्ने उनको भनाइ छ ।

त्यसैले घरेलु हिंसालाई श्रीमान्–श्रीमतीबीचको व्यक्तिगत झगडाका रूपमा मात्रै हेर्न नहुने उनी बताउँछिन् । हिंसा भएपछि प्रहरीमा उजुरी लिने व्यवस्थाले मात्रै समस्या समाधान नहुने भन्दै उनले स्थानीय तहदेखि प्रदेश सरकारसम्मले हिंसा पहिचान, मनोसामाजिक परामर्श, सुरक्षित आश्रय, कानुनी सहायता र पीडितको आर्थिक सशक्तीकरणलाई जोडेर काम गर्नुपर्ने बताइन् ।

निःशुल्क परामर्शका लागि कहाँ सम्पर्क गर्ने ?

घरेलु हिंसा वा पारिवारिक तनावमा परेका व्यक्तिलाई समयमै मनोसामाजिक परामर्श र उपचार उपलब्ध गराउनु आवश्यक हुन्छ । तर मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि कहाँ जाने र कसलाई सम्पर्क गर्ने भन्ने जानकारीसमेत धेरैलाई छैन ।

नेपालमा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामका लागि निःशुल्क टेलिफोन सेवा उपलब्ध छन् । राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइनको नम्बर ११६६ हो । यो नम्बरमा फोन गरेर आत्महत्याको जोखिम, गम्भीर मानसिक तनाव वा संकटमा परेका व्यक्तिले परामर्श लिन सक्छन् । यो सेवा निःशुल्क छ ।

त्यस्तै, टीपीओ नेपालले १६६००११०२००५ नम्बरबाट मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । नेपाल टेलिकमको नेटवर्कबाट यो नम्बरमा निःशुल्क फोन गर्न सकिन्छ । सेवा हरेक दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उपलब्ध छ ।

घरेलु हिंसामा परेका महिला तथा बालिकाका लागि राष्ट्रिय महिला आयोगको ११४५ नम्बरमा पनि सम्पर्क गर्न सकिन्छ । यो निःशुल्क हेल्पलाइन २४ सै घण्टा सञ्चालन हुन्छ । यसबाट मनोसामाजिक परामर्श, कानुनी सहायता, सुरक्षित आवास तथा आवश्यक सेवाका लागि समन्वय र रेफरल उपलब्ध हुन्छ ।

सुर्खेतस्थित प्रदेश अस्पतालमा पनि मनोरोग विभाग सञ्चालनमा छ । मानसिक स्वास्थ्यसम्बन्धी उपचार तथा परामर्शका लागि अस्पतालको ०८३–५२०२०० वा ०८३–५२२२०० नम्बरमा सम्पर्क गर्न सकिन्छ । अस्पतालको नियमित बहिरङ्ग सेवा सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुन्छ । तत्काल हिंसाको जोखिम भएमा प्रहरीको १०० नम्बरमा समेत सम्पर्क गर्न सकिन्छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २८ गते शनिबार