दैलेख। घरायसी विवादका क्रममा श्रीमान्ले बन्चरो प्रहार गर्दा दैलेखमा श्रीमतीसहित चार जना घाइते भएका छन्।

चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानिखोलाका ३८ वर्षीय अम्बर सलामी मगरले बुधबार बिहान आफ्नै श्रीमती र तीन सन्तानमाथि बन्चरो प्रहार गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार अम्बरले सामान्य घरायसी विवादका क्रममा ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्माको टाउकोमा दाउरा काट्ने बन्चरोले प्रहार गरेका थिए।
बन्चरो प्रहारबाट घाइते चारै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि एम्बुलेन्समार्फत दुल्लु अस्पताल लगिएको छ।
घटनापछि प्रहरीले आक्रमणमा संलग्न अम्बरलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको कमान्डमा खटिएको पाँच जनाको टोली घटनास्थल पुगेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।








