२०८३ मंसिर ५ , शनिबार

दैलेखमा बञ्चरो प्रहारबाट दुई बालबालिकाको मृत्यु, आमा र छोरा गम्भीर घाइते



सुर्खेत। दैलेखमा श्रीमानले आफ्नै श्रीमती र तीन सन्तानमाथि बञ्चरो प्रहार गर्दा दुई बालबालिकाको मृत्यु भएको छ भने आमा र अर्का एक छोरा गम्भीर घाइते भएका छन्। जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा शनिबार बिहान करिब ९ः३५ बजे ३८ वर्षीय अम्बर सलामी मगरले घरायसी विवादका क्रममा परिवारका सदस्यहरूमाथि दाउरा काट्ने बञ्चरो प्रहार गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बञ्चरो प्रहारबाट गम्भीर घाइते भएका १२ वर्षीय छोरा तपेन्द्र सलामी र ३ वर्षीया छोरी करिश्मा सलामीलाई उपचारका लागि नगर अस्पताल दुल्लु पुर्‍याइएको थियो। उपचारकै क्रममा चिकित्सकले बिहान ११ः१० बजे दुवैलाई मृत घोषणा गरेका हुन्।

घटनामा घाइते भएका ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर र ६ वर्षीय छोरा मिलन सलामीलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी हाँडाकोट र इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले बञ्चरो प्रहारमा संलग्न अम्बर सलामी मगरलाई नियन्त्रणमा लिनुका साथै घटनामा प्रयोग भएको बञ्चरोसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रकाशित मिति : २०८३ मंसिर ५ गते शनिबार