मध्यपहाडीको रुकुम खण्ड १८ दिन बन्द हुने

सुर्खेत

मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको दुई स्थानमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले १८ दिनसम्म सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध हुने भएको
छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–८ किटेनी र रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ रानीकोट गरी दुई स्थानमा सडक ढलान गर्नुपर्ने भएकाले उक्त अवधिमा सडक बन्द गरिने भएको हो ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर नवीन खरेलका अनुसार आजदेखि कात्तिक ३० गतेसम्म किटेनीमा २ सय ६० मिटर र रानीकोटमा ९ मिटर सडक ढलान गर्ने योजना रहेको छ । ‘यी दुई ठाउँमा सडक साँघुरो र कच्ची भएकाले ढलान गरेर बलियो बनाउने निर्णय गरिएको हो,’ उनले भने, ‘तत्काल फराकिलो बनाउन थाले समय र लगानी दुवै धेरै लाग्ने भएकाले अहिले भएकै सडकलाई ढलान गर्ने निर्णय गरिएको हो ।’
विशेषगरी रुकुम पश्चिमसँगै जाजरकोट र डोल्पासम्मका सवारीसाधन पोखरा–काठमाडौंसम्म आवतजावत गर्ने भएकाले यो खण्ड बन्द हुँदा मुसिकोटबाट गाराघाटको पुल तरेर पिपल–पोखरा गाउँ हुँदै रुकुमकोट पुगेर पुनः मध्यपहाडी लोकमार्गमा जोडिन सकिने वैकल्पिक मार्ग प्रयोग गर्न सुझाइएको छ ।
चाडपर्व सकेर काठमाडौँतर्फ फर्कने सर्वसाधारणको भीड बढेको र तत्काल रुट परिवर्तन गर्दा कठिनाइ हुने भन्दै सडक मर्मत केही दिनपछि सार्न यातायात व्यवसायीहरुले आग्रह गरे पनि त्यो सम्भव नभएको इन्जिनियर खरेलले बताए । ‘यातायात व्यवसायीहरुले काम केही दिन पछाडि सार्न अनुरोध गरे पनि तत्काल सम्भव भएन, त्यसैले मौसमको अवस्था हेरी भोलीदेखि नै काम सुरु हुन्छ,’ उनले भने ।

अन्य समाचार

+ There are no comments

Add yours