एनपीएल–२ मा कर्णालीको पहिलो जित

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णालीले पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा मार्क वाटको उत्कृष्ट शतकमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको सानदार जित निकालेको हो । वाटले शतक प्रहार गरेछि लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२.२ ओभरमै एक विकेटको क्षतिमा पूरा ग¥यो । उत्कृष्ट लयमा देखिएका वाटले ४४ बलमा ६ चौका र १२ छक्का प्रहार गर्दै नटआउट ११४ रन बनाए । विल बोसिस्टोले २० बलमा नटआउट २९ रन जोडे । उनले २ चौका र एक छक्का प्रहार गरे ।
वाटले दशौं ओभरमा लुम्बिनीका कप्तान रोहित पौडेलविरुद्ध २६ रन प्रहार गरेका थिए । सो ओभरमा उनले चार छक्का र एक पटक दुई रन लिएका थिए । वाटले यो सिजनको एनपिएनमा पहिलो शतक प्रहार गरेका हुन् । अघिल्लो सिजन पोखराका लागि आन्द्रेस गौसले लुम्बिनी लायन्सविरुद्ध नै १०४ रन प्रहार गरेका थिए ।
त्यसअघि कर्णालीका ओपनर प्रियांक पाञ्चल १२ रनमा आउट भएका थिए । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १५६ रन बनायो । लुम्बिनीका कप्तान रोहितकुमार पौडेल एक रनले अर्धशतक बनाउन चुके । उनी १७औं ओभरको चौथो बलमा सोमलको बलमा नाजिबुल्लाह जाद्रानबाट ४९ रनमा क्याच भए । रोहितले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
खराब सुरुवात गरेको लुम्बिनीका ओपनर सन्दीप जोरा दोस्रो ओभरमा नन्दन यादवको बलमा विल बोसिस्टोबाट एक रनमै क्याच भए । डार्शी सर्टले १९ रन बनाए । उनले १४ बलमा ४ चौका प्रहार गरे । डार्शी र रोहितबीच दोस्रो विकेटको लागि ३६ रनको साझेदारी भयो । सुस्त ब्याटिङ गरेको लुम्बिनीले पावरप्लेमा एक विकेटको क्षतिमा ३६ रन र १० ओभरमा ३ विकेटको क्षतिमा ५९ रन मात्र जोड्न सकेको थियो । यद्यपी लुम्बिनीले पछिल्लो पाँच ओभरमै ६८ रन जोडेको थियो ।
दिलीप नाथ ६ रन, गुल्बादिन नइब ७ रन र सुमित महर्जनले ४ रन मात्र जोड्न सके । जेजी स्मितले १४ बलमा दुई चौका र १ छक्काको मद्दतमा २३ रन जोडे । अन्त्यमा रुबेल ट्रम्पलम्यानले १४ बलमा १ चौका र ३ छक्काको मद्दतमा नटआउट २९ रन जोडेपछि लुम्बिनीले १५० रन कटाएको थियो । बलिङमा कर्णालीका नन्दन यादवले २ विकेट लिए भने सोमपाल कामी, गुल्सन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १–१ विकेट लिए । एनपीएल–२ मा यसअघि भएको पहिलो खेलमा लुम्बिनी विजयी हुँदा कर्णालीले भने हार ब्यहोरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *