
बालबालिकामा नसर्ने (एनसिडी) रोगसम्बन्धि दुई दिने कार्यशाला सुर्खेतमा सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका, युनिसेफ नेपाल र सोसेक नेपालको संयुक्त आयोजनामा शनिबार र आइतबार दुई दिने कार्यशाला सम्पन्न भएको हो । सामाजिक व्यवहार र परिवर्तन परियोजना (एसबिसी) ले बालबालिकामा नसर्ने रोगसम्बन्धि उक्त कार्यशाला गरेको हो ।
उक्त कार्यशालामा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णालीमा नसर्ने रोगको अवस्था भयावह रहेको बताए । नसर्ने रोगको समाधानका लागि स्थानीय तह विशेष रुपमा सक्रिय हुनुपर्ने उनले बताए । यसमा आवश्यकता अनुसार प्रदेश सरकारले स्थानीय तह र विकास साझेदार संस्थासँग सहकार्य गर्ने उनलेब ताए ।
‘आन्तरिक आय एकदमै कामजोर रहेको कर्णाली प्रदेश सरकारले यो क्षेत्रमा एक्लै काम गर्न सक्षम छैन,’ मन्त्री भण्डारीले भने, ‘स्वास्थ्यका यस्ता जटिल क्षेत्रमा कुनै पनि तहको सरकारले एक्लैले काम गर्न सक्ने अवस्था छैन, तीनै तहका सरकारले सहकार्य गरेर यस्तो क्षेत्रमा काम गर्नु जरुरी छ ।’ उनले कर्णालीमा बालबालिकामा भएको नसर्ने रोग पहिचानका लागि सबैको सहकार्यमा तत्काल ‘स्क्रिनिङ’ गर्नुपर्ने औंल्याए ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकण्ड खनालले स्वास्थ्य, सरसफाई र खानेपानी वीरेन्द्रनगरको चुनौती भएको बताए । यो चुनौती समाधानका लागि वीरेन्द्रनगरले माथिल्लो तहको सरकार र विकास साझेदार निकायसँग निरन्तर सहकार्य गरेर काम गरिरहेको उनले बताए । बसाईसराइका कारण वीरेन्द्रनगर उपत्यकामा बढ्दो जनघनत्वका कारण स्वास्थ्य तथा अन्य समस्या पहिचानमा समते सहज नभएको उनले बताए ।
Leave a Reply