मैथिली साहित्यका कान्छा अनुवादक विमर्श झाद्वारा अंग्रेजीमा अनूदित कविता संग्रह ‘क्राइ नो मोर सीता’ माथि काठमाडौँमा अन्तरक्रिया गरिएको छ।
कार्यक्रममा मूल मैथिलीमा रहेको विभा झाको कविता संग्रह ‘नहि सीता नहि’ को अंग्रेजी अनुवाद ‘क्राइ नो मोर सीता’ को लोकार्पण तथा अन्तरक्रिया भएको हो।
उक्त कृतिमा समेटिएका कविताहरू सीतामाथि आधारित छन्। कार्यक्रममा १७ वर्षीय अनुवादक विमर्श झासँग युवा कवि विकास वत्सनाभले संवाद गरेका थिए।
सानो उमेरमा अनुवादजस्तो गम्भीर विषय किन चयन गरेकाे भनेर सोधिएको प्रश्नमा अनुवादक झाले भने, “मैथिली मेरो मातृभाषा हो, तर यसको समृद्ध साहित्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन अंग्रेजी अनुवाद आवश्यक छ। त्यसैले मैले अनुवाद गर्ने विचार गरेको हुँ।”
अनुवादक झाले कृति अनुवाद गर्दा आफूलाई मैथिली शब्द भण्डारको विराटता र महिलाहरूको मनभित्रका भावनालाई बुझ्ने अवसर प्राप्त भएको बताए।
कविता संग्रह ‘क्राइ नो मोर सीता’ को प्रकाशन विमर्श फाउण्डेशनले गरेको हो। फाउण्डेशनकी अध्यक्ष विभा झाले मैथिली साहित्यमा युवाहरूको आगमनले उत्साह थपिएको बताइन्। अध्यक्ष झा कृतिकी मूल लेखक पनि हुन्।
कार्यक्रमका प्रमुख अतिथि भाषा वैज्ञानिक डा. रामावतार यादवले झाको अनुवाद कलाको प्रशंसा गर्दै भने, “मैथिली साहित्यलाई विमर्शजस्ता जोशिला युवा सर्जक तथा अनुवादकहरूको खाँचो छ।” उनले ‘क्राइ नो मोर सीता’ एक सफल अनुवाद कृति भएको बताउँदै अनुवाद साहित्यमा झाको निरन्तरताको कामना गरे।








