सल्यान । जिल्लाकाे त्रिवेणी गाउँपालिकाबाट आर्थिक वर्ष २०८२/८३ मा करिब चार करोड ७० लाख ९७ हजार पाँच सय ८६ रुपैयाँ बराबरका खसी निकासी भएका छन् । गाउँपालिकाले सञ्चालन गरेको कृषि उत्पादन बजारीकरण अनुदान कार्यक्रमअन्तर्गत पाँच वटा सहकारी संस्थामार्फत ९८ हजार २३ केजी तौलका २ हजार ५ सय ८० वटा खसी बिक्री गरिएको हो ।
गाउँपालिका पशु शाखा प्रमुख बसन्त रावतका अनुसार उक्त कार्यक्रममार्फत गाउँपालिकाका आठ सय ७८ जना कृषक प्रत्यक्ष लाभान्वित भएका छन् । सहकारीमार्फत खसी बिक्री हुँदा कृषकले उत्पादनको सुनिश्चित बजार पाउनुका साथै उचित मूल्यसमेत प्राप्त गरेका छन् । सबैभन्दा बढी कारोबार त्रिवेणी गाउँपालिका छ मा रहेको बिवेणी व्यवसाय सहकारी संस्थाले गरेको छ ।
उक्त सहकारीले एक करोड ५९ लाख ६८ हजार पाँच सय ८८ रुपैयाँ बराबरका खसी बिक्री गरेको जनाएको छ । त्यसैगरी दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारी संस्थाले एक करोड ७० लाख ५२ हजार नाै सय ४६ रुपैयाँ, नमुना सामाजिक उद्यमी महिला सहकारी संस्थाले ६२ लाख आठ हजार चार सय ५७ रुपैयाँ, उपहार उद्यमी महिला सहकारी संस्थाले ५५ लाख २१ हजार दुई सय ७५ रुपैयाँ तथा त्रिवेणी साना किसान सहकारी संस्थाले १३ लाख ४६ हजार तिन सय २० रुपैयाँ बराबरका खसी बिक्री गरेका छन् ।
कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले बिक्री भएका खसीमा प्रतिकिलो १२ रुपैयाँका दरले नाै लाख ३३ हजार पाँच सय १६ रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यस्तै, व्यवस्थापन खर्चबापत प्रतिकिलो ५० पैसाका दरले ३८ हजार आठ सय ९६ रुपैयाँ खर्च गरिएको छ । यस कार्यक्रमका लागि गाउँपालिकाले कुल नाै लाख ७२ हजार चार सय १२ रुपैयाँ बजेट खर्च गरेको पशु शाखाले जनाएको छ ।
पशु शाखा प्रमुख रावतका अनुसार सहकारीमार्फत बिक्री प्रणाली अपनाउँदा बजार व्यवस्थापन प्रभावकारी बनेको, कृषकले उत्पादनको उचित मूल्य पाएको तथा बिचौलियाको प्रभावसमेत न्यून भएको छ । यसले स्थानीय स्तरमा व्यावसायिक बाख्रापालनलाई थप प्रोत्साहन गरेको उनको भनाइ छ ।
गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले कृषि तथा पशुपालनलाई गाउँपालिकाको आयआर्जनको प्रमुख आधारका रूपमा विकास गर्ने नीतिअनुसार बजारीकरण अनुदान कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार यस कार्यक्रमले व्यावसायिक बाख्रापालन विस्तार गर्न उल्लेखनीय योगदान पुर्याएको छ । आगामी वर्षहरूमा पनि कृषकलाई उत्पादन, बजारीकरण र अनुदानमार्फत थप सहयोग गर्ने नीति गाउँपालिकाले निरन्तर अघि बढाउने उनले बताए ।









