सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा पछिल्लो पाँच वर्षको अवधिमा नौ जनाको सफल मिर्गौला प्रत्यारोपण गरिएको छ । काठमाडौँ स्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग २०७८ चैत १० गते सम्झौता गरी प्रदेश अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गर्दै आएको हो । अस्पतालका अनुसार पछिल्लो पटक असार २३ गते दुई जनाको सफल मिर्गौला प्रत्यारोपण गरिएको छ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका छ का शिवराज गुइँदेल र कञ्चनपुरको बेलौरी नगरपालिका पाँचका अजय चौधरीको मिर्गौला प्रत्यारोपण गरिएको हो ।
प्रत्यारोपणमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका विशेषज्ञ चिकित्सकसहितको टोली सहभागी भएको थियो । टोलीमा डा. दिपेश श्रेष्ठ, डा. शोभित थापा, डा. रुवसनाथ योगी, डा. रोजन अधिकारीलगायतका चिकित्सक रहेका थिए । प्रदेश अस्पतालले पत्रकार सम्मेलनमार्फत मिर्गौला प्रत्यारोपण सेवा निरन्तर सफल रूपमा सञ्चालन भइरहेको जानकारी दिएको छ ।
अस्पतालका विशेषज्ञ चिकित्सक डा. विकास खड्काले पछिल्लो प्रत्यारोपणमा अधिकांश जनशक्ति प्रदेश अस्पतालकै परिचालन भएको बताए । विगतमा प्रत्यारोपणका लागि केन्द्रबाट करिब ३० जनाको टोली आउने गरेको भए पनि पछिल्लो पटक सात जना मात्रै आएको र बाँकी काम प्रदेश अस्पतालकै चिकित्सक तथा स्वास्थ्यकर्मीले सम्हालेको उनले जानकारी दिए ।
प्रदेश अस्पतालका निर्देशक डा. गणेश थापाले मिर्गौला प्रत्यारोपण सेवा स्थानीय स्तरमै उपलब्ध हुँदा बिरामीको आर्थिक भार कम भएको बताए । उनले अस्पतालले आवश्यक जनशक्ति विकास गर्दै आगामी दिनमा पनि सेवा विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिए । मिर्गौला प्रत्यारोपण गरेका बिरामीहरूले आफ्नै जिल्लामा उपचार पाउँदा ठूलो राहत मिलेको बताएका छन् ।
पृथ्वी चौधरीले लामो समय विभिन्न स्थानमा उपचार गरेपछि सुर्खेतमै सफल प्रत्यारोपण भएको बताए । त्यस्तै शिवराज गुइँदेलकी श्रीमती रिता परियारले यसअघि भारत र काठमाडौँसम्म उपचारका लागि जानुपरे पनि अहिले आफ्नै जिल्लामा निःशुल्क प्रत्यारोपण सेवा पाएको बताइन् । प्रदेश अस्पतालले मिर्गौला प्रत्यारोपणका लागि प्रतिबिरामी तीन लाख रुपैयाँ सहयोग गर्दै आएको छ । चिकित्सकका अनुसार प्रत्यारोपण प्रक्रियामात्रै आठदेखि १० लाख रुपैयाँसम्म खर्च लाग्ने भएकाले अस्पतालको सहयोगले बिरामीलाई राहत पुगेको छ । अस्पताल प्रशासनले मिर्गौला प्रत्यारोपण सेवालाई आगामी दिनमा पनि निरन्तरता दिँदै थप प्रभावकारी बनाउने जनाएको छ ।









