सुर्खेत । जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर सडक वर्षायाम सुरु भएसँगै फेरि पटक–पटक अवरुद्ध हुन थालेको छ । खोलानालामा पानीको बहाव बढेपछि सडक सञ्चालन प्रभावित हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र पर्नुपर्ने, पटक–पटक सवारी परिवर्तन गर्नुपर्ने र अत्यावश्यक सामग्रीको ढुवानीसमेत प्रभावित हुने गरेको छ । यसले रुकुमेली, जाजरकोटी र डोल्पालीको दैनिकी कष्टकर बनेको छ भने सडकको भरपर्दोपनामाथि प्रश्न उठाएको छ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ अन्तर्गत पर्ने रेजिगाड, उसुम खोला, खोलीबजार तथा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका क्षेत्रका फुलचिङ, भेत्ती र अन्य खोलामा पानीको बहाव बढेपछि सडक सञ्चालनमा समस्या देखिएको हो। सडक अवरुद्ध हुँदा यात्रुहरूले जोखिमपूर्ण रूपमा खोलापारि सवारी परिवर्तन गर्दै गन्तव्य पुग्न बाध्य भएका छन् ।
२०७५ सालमा डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिए पनि वर्षायाममा सहज यातायात सञ्चालन हुने अवस्था अझै बन्न सकेको छैन । हिउँदमा मात्रै सिधा सवारी सञ्चालन हुने यो सडकमा बर्खा लाग्नेबित्तिकै डोल्पालीले वर्षेनी उही समस्या दोहो¥याइरहेका छन् ।
अहिले डोल्पादेखि जाजरकोट वा सुर्खेत पुग्न चारदेखि पाँच पटकसम्म सवारी परिवर्तन गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । त्रिपुरासुन्दरीका लालबहादुर सार्कीका अनुसार सडक बनेको वर्षौं बितिसक्दा पनि वर्षायाममा यात्रा अझै जोखिमपूर्ण छ । सडक अवरुद्ध हुँदा बिरामी, ज्येष्ठ नागरिक, विद्यार्थी र दैनिक यात्रु सबैभन्दा बढी प्रभावित हुने गरेका छन् ।
उता भेरी करिडोर कार्यालयले अवरुद्ध हुने अधिकांश स्थानमा ह्युम पाइप जडान गरिसकिएको जनाएको छ । तर वर्षायाममा खोलाको बहाव अत्यधिक बढ्ने भएकाले ती संरचनाले पनि काम गर्न नसकेको कार्यालयको भनाइ छ । सूचना अधिकारी गिरिशनन्दन कोरसका अनुसार उसुम, रेजिगाड, खोलीबजार, फुलचिङ र भेत्ती खोलामा ह्युम पाइप राखिएको भए पनि छलगाड खोलामा भौगोलिक कठिनाइका कारण यस्तो संरचना निर्माण गर्न सम्भव भएको छैन ।
मनपरी भाडाले यात्रु थप मारमा
सडक अवरुद्धको अवस्थाको फाइदा उठाउँदै केही यातायात व्यवसायीले चर्को भाडा असुल्ने गरेको यात्रुको गुनासो छ । सिधा सवारी सञ्चालन हुँदा २–३ हजार रुपैयाँमा सुर्खेत वा नेपालगञ्ज पुगिने यात्राका लागि अहिले ४–५ हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको यात्रु प्रेम बोहोराले बताए । उनका अनुसार यात्रुलाई बीच बाटोमै अलपत्र छोड्ने, पर्याप्त जानकारी नदिने र दुव्र्यवहार गर्ने प्रवृत्तिसमेत बढ्दो छ ।
सडक स्तरोन्नति सुस्त, ठेक्का रद्द गर्ने तयारी
भेरी करिडोरअन्तर्गत जाजरकोटको तल्लुबगरसम्म कालोपत्रे सम्पन्न भए पनि तल्लुबगर–त्रिपुराकोट सडकखण्डको स्तरोन्नति भने अत्यन्त सुस्त छ । त्रिदेशीय व्यापारिक महत्व बोकेको यो सडक निर्माणको जिम्मा लिएका कम्पनीहरूले सम्झौताअनुसार काम नगरेपछि आयोजना कार्यालयले ठेक्का रद्द गर्ने तयारी थालेको छ ।
आयोजना कार्यालयका अनुसार मैनाचुली–सिस्ने जेभीले करिब ८५ करोड रुपैयाँको निर्माण सम्झौता गरेर पाँच प्रतिशत पेश्की लिइसके पनि हालसम्म भौतिक प्रगति एक प्रतिशत मात्र भएको छ । यस्तै क्याब कन्स्ट्रक्सनले ८८ करोड रुपैयाँको ठेक्का लिएर करिब ७–८ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ ।
आयोजना प्रमुख नरेशप्रसाद केशरीले दुवै निर्माण कम्पनीलाई पटक–पटक ताकेता र स्पष्टीकरण माग गरिएको बताउँदै निर्माणमा सुधार नआए कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिए । डोल्पाको प्रमुख जीवनरेखाका रूपमा रहेको भेरी करिडोर नियमित सञ्चालन नहुँदा दैनिक उपभोग्य सामग्री, औषधि, निर्माण सामग्रीलगायत अत्यावश्यक वस्तुको ढुवानी प्रभावित हुने गरेको छ ।
स्थानीयवासीले सडक नियमित सञ्चालन, खोलानाला व्यवस्थापन, निर्माण कार्यमा तीव्रता, यातायात व्यवसायीको मनपरी नियन्त्रण तथा यात्रुको सुरक्षाको सुनिश्चितताका लागि सम्बन्धित निकायसँग तत्काल प्रभावकारी पहल गर्न माग गरेका छन् ।








