२०८३ असार ३० , मंगलबार

पेट्रोलियम परियोजना अलपत्र



दैलेख । जिल्लाकाे भैरवी गाउँपालिका एक जलजलेस्थित प्राकृतिक ग्यास तथा पेट्रोलियम अन्वेषण परियोजना दोस्रो चरणको काम सुरु हुन नसक्दा लामो समयदेखि अलपत्र परेको छ। पहिलो चरणको अध्ययन तथा ड्रिलिङ सम्पन्न भएर प्रतिवेदन सरकारलाई बुझाइसकिए पनि त्यसपछिको प्रक्रिया अघि नबढ्दा परियोजनास्थलमा रहेका महँगा उपकरण प्रयोगविहीन बन्दै गएका छन् ।

नेपाल र चीन सरकारबीच सन् २०१९ मा भएको सम्झौताअनुसार दैलेखको शिरस्थान, नाभिस्थान र पादुकास्थान क्षेत्रमा पेट्रोलियम तथा प्राकृतिक ग्यासको अध्ययन सुरु गरिएको थियो । जलजले क्षेत्रमा करिब ४५ रोपनी सरकारी जग्गामा सञ्चालन भएको यो परियोजना चीन सरकारको करिब दुई अर्ब १७ करोड रुपैयाँ अनुदान सहयोगमा सम्पन्न भएको हो। अध्ययनका क्रममा नेपालकै सबैभन्दा गहिरो चार हजार १३ मिटर ड्रिलिङ गरिएको थियो ।

चीनको चाइना जियोलोजिकल सर्भेले तयार पारेको प्रतिवेदनमा जलजले क्षेत्रमा करिब ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास रहेको सम्भावना औँल्याइएको छ । यसले दैलेखलाई भविष्यमा मुलुककै महत्वपूर्ण ऊर्जा केन्द्रका रूपमा विकास गर्न सकिने अपेक्षा बढाएको छ । यद्यपि पहिलो चरणको अध्ययन सकिएपछि दोस्रो चरणको अन्वेषण तथा उत्खनन प्रक्रिया सुरु हुन सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका निकायले आवश्यक प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताए पनि स्पष्ट कार्ययोजना सार्वजनिक भएको छैन । यसले परियोजनाको भविष्यप्रति अन्योल बढाएको छ ।

दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्रबहादुर थापाले परियोजना लामो समय रोकिँदा अन्वेषणस्थलमा रहेका ड्रिलिङ मेसिन, उपकरण तथा अन्य संरचनामा खिया लाग्न थालेको बताए । उनका अनुसार दोस्रो चरणको काम छिट्टै सुरु गर्न सके मुलुकको ऊर्जा क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने र पेट्रोलियम पदार्थ आयातमा हुने अर्बौं रुपैयाँ विदेशिनबाट जोगाउन सकिनेछ । स्थानीयवासीले पनि परियोजना छिटो अघि बढाएर उत्खनन प्रक्रिया सुरु गर्न सरकारसँग माग गरेका छन् । उनीहरूका अनुसार परियोजना सञ्चालनमा आए रोजगारी सिर्जना, पूर्वाधार विकास र स्थानीय आर्थिक गतिविधिमा उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ ।

प्रकाशित मिति : २०८३ असार ३० गते मंगलबार