सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार जना मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् । बुधबार बिहान करिब नाै बजे उनीहरूले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष आफ्नो राजीनामा बुझाएका हुन् । सरकारभित्र मन्त्रालयको संरचना परिवर्तन गर्ने तयारीप्रति असन्तुष्टि जनाउँदै मन्त्रीहरूले एकैसाथ पद त्याग गर्ने निर्णय लिएको स्रोतले जनाएको छ ।
राजीनामा बुझाउने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्री विजया बुढा तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी रहेका छन् । चारै जनाले सामूहिक रूपमा राजीनामा बुझाएसँगै कर्णाली प्रदेश सरकारको राजनीतिक समीकरण र सरकारको आगामी रणनीतिबारे विभिन्न अड्कलबाजी सुरु भएको छ ।
स्रोतका अनुसार मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक विकास मन्त्रालयको संरचना हेरफेर गर्ने तयारी गरिरहेका थिए । उक्त प्रस्तावप्रति नेपाली कांग्रेसका मन्त्रीहरूले असन्तुष्टि जनाउँदै मन्त्रालयको संरचनामा एकपक्षीय रूपमा परिवर्तन गर्न नहुने अडान राखेका थिए । उनीहरूको भनाइमा मन्त्रालयको संरचनासम्बन्धी निर्णय पर्याप्त छलफल र सहमतिका आधारमा हुनुपर्ने थियो ।
सामाजिक विकास मन्त्री घनश्याम भण्डारी निकट स्रोतका अनुसार मन्त्रीहरूले आफूहरू क्याबिनेट बैठकमा केवल निर्णयका साक्षी बनेर बस्न नसक्ने निष्कर्ष निकालेका थिए । “मन्त्रालयको संरचनामा तलमाथि गर्नुहुँदैन भन्ने मन्त्रीहरूको स्पष्ट धारणा थियो । अन्य मन्त्रीहरूले पनि यही विषयमा आफ्नो असन्तुष्टि जनाउँदै क्याबिनेटको साक्षी मात्र नबस्ने निर्णय गरेपछि सबैले सामूहिक रूपमा राजीनामा बुझाएका हुन्,” भण्डारीका एक स्वकीयले बताएका छन् । यस घटनाले कर्णाली प्रदेश सरकारभित्रको सत्ता साझेदारी, मन्त्रालय व्यवस्थापन तथा दलहरूबीचको समन्वयमा प्रश्न उठाएको छ ।
कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामापछि सरकारको स्थायित्व, मन्त्रिपरिषद्को पुनर्गठन र सत्ता समीकरणको आगामी अवस्थाबारे राजनीतिक वृत्तमा चासो बढेको छ । यद्यपि, मुख्यमन्त्री यामलाल कँडेल वा प्रदेश सरकारका तर्फबाट मन्त्रीहरूको राजीनामाबारे औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। साथै, नेपाली कांग्रेसले पनि यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । आगामी दिनमा सरकार र कांग्रेसबीच हुने छलफल तथा निर्णयले कर्णाली प्रदेशको राजनीतिक दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।









