२०८३ असार ३१ , बुधबार

आफ्नै भवनबाट सेवा दिँदै छेडागाड



जाजरकोट ।  छेडागाड नगरपालिकाले स्थापना भएको नौ वर्षपछि आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । हालसम्म भाडाका विभिन्न भवनबाट सेवा सञ्चालन गर्दै आएको नगरपालिकाले नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न भएपछि सबै सेवा एउटै भवनबाट सञ्चालनमा ल्याएको हो । नगरपालिकाको चारतले, ३० कोठे आधुनिक प्रशासनिक भवन निर्माण सम्पन्न भई निर्माण व्यवसायीले हस्तान्तरण गरेपछि शुक्रबारदेखि औपचारिक रूपमा सेवा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

नवर्निर्मित भवनको उद्घाटन नगरप्रमुख रत्नबहादुर खड्काले गरेका हुन् । स्थानीय तह स्थापना भएदेखि नै आफ्नै प्रशासनिक भवन नहुँदा नगरपालिकाले विभिन्न स्थानमा घर भाडामा लिएर सेवा सञ्चालन गर्दै आएको थियो । यसका कारण सेवाग्राही र कर्मचारी दुवैले सास्ती खेप्नुका साथै वार्षिक रूपमा ठूलो रकम घरभाडामा खर्च हुँदै आएको थियो । पहिलो स्थानीय तह निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले प्रशासकीय भवन निर्माणस्थल टुंग्याउन नसक्दा निर्माण कार्य केही वर्ष ढिलो भएको थियो ।

पछि छेडागाड नगरपालिका–चंखेलीमा भवन निर्माणका लागि प्रक्रिया अघि बढाइएको थियो । २०८० माघमा भवन निर्माण सम्झौता भएपछि निर्माण कार्य सुरु भएको थियो । निर्माण व्यवसायी मानबहादुर खड्काले तोकिएको समयमै भवन निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गरेको बताए। उनका अनुसार संघ, प्रदेश र स्थानीय सरकारको समन्वय तथा सहयोगमा भवन निर्माण सम्पन्न भएको हो ।

नगरप्रमुख रत्नबहादुर खड्काले अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएपछि नगरपालिकाका सबै शाखाबाट प्रदान गरिने सेवा अब एउटै स्थानबाट सहज, प्रभावकारी र गुणस्तरीय रूपमा उपलब्ध हुने बताए । उनले अब घरभाडामा खर्च हुने बजेट विकास निर्माण र सेवा सुधारमा उपयोग गर्न सकिने उल्लेख गरे । जाजरकोटका सात स्थानीय तहमध्ये छेडागाड नगरपालिका आफ्नै प्रशासनिक भवनबाट सेवा सञ्चालन गर्ने स्थानीय तहको सूचीमा थपिएको छ । यद्यपि जुनीचाँदे गाउँपालिकामा केन्द्र विवादका कारण अझै पनि भाडाका भवनबाटै सेवा प्रवाह भइरहेको छ ।

प्रकाशित मिति : २०८३ असार ३१ गते बुधबार