जंगली हात्तीको बच्चा (छावा) मोरङको सुन्दरहरैँचामा बुधबार बिहान मृत भेटिएको छ। सुन्दरहरैँचा नगरपालिका–६ दुर्गा मन्दिर टोल नजिक भक्तराज लिम्बूको केरा बगानभित्र बिहान ६ बजेतिर मृत अवस्थामा छावा फेला परेको खबर वन कार्यालय र प्रहरीलाई गरिएको थियो।
सब डिभिजन वन कार्यालय लाटीझोडा एवं सब डिभिजन वन कार्यालय सलकपुर र प्रहरी चौकी गछियाको टोलीले घटनास्थललाई सुरक्षित राखेको छ। लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख एवं अधिकृत अमृतविलाश पन्तका अनुसार मृत भेटिएको हात्तीको बच्चा अन्दाजी ६/७ वर्षको जस्तो देखिन्छ।
कहाँबाट कसरी निजी जग्गाको केरा बगानभित्र छावा पुग्यो अचम्म परेको बताउँदै, पन्तले भने, ‘बगानभित्र कसरी मर्यो भन्ने खुलेको छैन। छावाको सुँडको छेउमा सामान्य चोट देखिएको र शरीरका अन्य भागमा कुनै पनि चोटपटक देखिँदैन। घटनाको अनुसन्धानपछि मात्रै वास्तविकता आउँछ।’
सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षलाई घटनाबारे जानकारी दिइएको छ। आरक्षको टोलीले घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्छ। छावाको पोस्टमार्टम गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाउने पन्तले जानकारी दिए।
यसअघि पुसमा पनि सुन्दरहरैँचा नगरपालिका–१० स्थित मुनाल झोडाको जनजागरण सामुदायिक वनभित्र मृत फेला परेको जंगली हात्तीलाई गोली प्रहार गरी हत्या गरिएको थियो। पुच्छर काटिएको अवस्थामा हात्ती मृत अवस्थमा फेला परेको थियो।








