२०८३ कात्तिक १० , मंगलबार

सात्तलाको भैलो संस्कृति संरक्षणमा जुट्दै युवा



दैलेख। दैलेखको आठबिस नगरपालिका–१, सात्तलामा पुस्तौँदेखि चल्दै आएको परम्परागत भैलो संस्कृतिको संरक्षणमा स्थानीय युवा सक्रिय हुन थालेका छन्।

पुराना भाका, मौलिक विधि र सांस्कृतिक पहिचानलाई निरन्तरता दिन युवाले चासो देखाए पनि यसको व्यवस्थित संरक्षण आवश्यक देखिएको छ। हरेक वर्ष दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको रात सात्तलामा परम्परागत भैलो खेल्ने गरिन्छ। पञ्चैबाजा र नगरा बजाउँदै, नायकलाई काँधमा बोकेर तथा ‘भैलारु भैलो’ भन्दै भाका भट्याउने दृश्य यहाँको सांस्कृतिक विशेषता हो। यसमा स्थानीय युवा, अग्रज तथा विभिन्न समुदायका मानिस सहभागी हुने गर्छन्।

अन्य स्थानमा तिहारका बेला खेलिने भैलोभन्दा सात्तलाको भैलो फरक छ। धार्मिक विश्वासअनुसार कोजाग्रत पूर्णिमाको रात महालक्ष्मीको आराधना गर्दै जाग्राम बसेमा सुख, समृद्धि र ऐश्वर्य प्राप्त हुने मान्यता छ। यही विश्वास र मौखिक परम्पराका आधारमा यहाँको भैलो संस्कृति लामो समयदेखि निरन्तर चल्दै आएको स्थानीय बताउँछन्।

भैलो सुरु हुनुअघि बिहानै ‘भैल्या बाजो’ वा ‘वर्षदिन्या बाजो’ बजाउने परम्परा छ। त्यसपछि पूजाआजा, कुभिन्डोको बलि, टीका, जमरा र फूलमाला लगाउने विधि पूरा गरिन्छ। नायकलाई काँधमा बोकेर पञ्चैबाजा र नगरा बजाउँदै भैलो खेलिन्छ। भैलोका क्रममा देवीदेवता, प्रकृति, देश, गाउँ, समाज र जनजीवनसँग सम्बन्धित भाका प्रस्तुत गरिन्छ। सहभागीले ‘साब्बाई साब्बाई’ भन्दै साथ दिने गर्छन्।

भैलोमा पाल थापा, पाल दमाईं र कडारा समुदायको महत्त्वपूर्ण भूमिका रहने गरेको छ। भैलोपछि देउडा, रत्यौली, ठाडीभाका र फुर्कोलगायतका सांस्कृतिक गतिविधि सञ्चालन गरिन्छन्। यसले स्थानीय मौलिक कला, सामाजिक एकता र सामुदायिक सद्भावलाई जीवन्त राख्न सहयोग पुर्‍याउँदै आएको छ।

आठबिस नगरपालिकाका कार्यपालिका सदस्य तथा भैलो संरक्षण अभियानका अभियन्ता वीरबहादुर माक्र्सवादीका अनुसार सात्तलाको भैलोमा सहभागी हुन दैलेखसहित अछाम, कालीकोट, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया र कैलालीलगायतका जिल्लाबाट मानिस आउने गर्छन्। रोजगारीका लागि भारत तथा अन्य सहरमा गएका युवा पनि दसैँको अन्तिम दिनसम्म घर फर्किएर भैलोमा सहभागी हुने गरेका छन्।

आठबिस नगरपालिका–१ का वडाध्यक्ष बमबहादुर रावतले सात्तलाको भैलो संस्कृति संरक्षणका लागि वडाले बजेट विनियोजन गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। स्थानीय तहको सहयोग र युवाको सक्रियताले परम्परालाई निरन्तरता दिन सकारात्मक भूमिका खेलेको उनको भनाइ छ।

यद्यपि, परम्परागत भाका, पहिरन र विधिबारे जानकार अग्रजको सङ्ख्या घट्दै जानु संस्कृति संरक्षणको प्रमुख चुनौती बनेको छ। मौखिक रूपमा पुस्तान्तरण हुँदै आएका भाकाहरू हराउने जोखिम बढेकाले तिनको अभिलेखीकरण, नयाँ पुस्तालाई प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रमको संस्थागत व्यवस्थापन आवश्यक देखिएको छ। भैलोमा सहभागी युवा रत्न बुढाले पुराना पुस्ताले भैलोका भाका भट्याउने गरे पनि युवालाई परम्परागत विधि र भाकाबारे प्रशिक्षित गर्नुपर्ने बताए। युवामा संस्कृति संरक्षणप्रति चासो भए पनि त्यसलाई दिगो बनाउन योजनाबद्ध कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ।

स्थानीय मौलिक पहिचान बोकेको सात्तलाको भैलो संस्कृति संरक्षण गर्न अग्रजको ज्ञानलाई अभिलेखमा राख्ने, युवालाई परम्परागत सीप हस्तान्तरण गर्ने र स्थानीय तहले नियमित संरक्षण कार्यक्रम सञ्चालन गर्ने काम महत्त्वपूर्ण देखिएको छ। यसो गर्न सके सात्तलाको ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई भावी पुस्तासम्म पुर्‍याउन सकिनेछ।

प्रकाशित मिति : २०८३ कात्तिक १० गते मंगलबार