काठमाडौं। वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएका म्यानपावर व्यवसायीलाई ३५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। तोकिएको अवधिभित्र उपस्थित नभए उनीहरूको बैंकिङ कारोबार र यात्रा अनुमति रोक्का गर्नेलगायत कानुनी प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।
विभागले वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिएर २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। तीमध्ये एक जना व्यवसायी रविन गुरुङ पक्राउ परिसकेका छन् भने अन्य व्यवसायी सम्पर्कमा नआएको विभागले जनाएको छ। विभागले सोमबार सार्वजनिक गरेको सूचनामा पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन आग्रह गरिएको छ। तोकिएको समयभित्र उपस्थित नभए वैदेशिक रोजगार ऐन, २०६४ लगायत प्रचलित कानुनबमोजिम बैंक खातामा रहेको कारोबार रोक्का गर्ने, यात्रा अनुमति रोक्ने तथा अन्य आवश्यक कानुनी कारबाही अघि बढाइने सूचनामा उल्लेख छ।
मलेसियाले गत भदौको पहिलो साता नेपालसहित १० वटा श्रमिक स्रोत देशबाट कामदार भर्ना गर्न म्यानपावर कम्पनी छनोट गरेको थियो। नेपालबाट २५ वटा कम्पनीलाई ‘प्रिन्सिपल एजेन्सी’ र २५० वटा कम्पनीलाई ‘सपोर्ट एजेन्सी’ का रूपमा छनोट गरिएको थियो। मलेसियाको विदेशी कामदार व्यवस्थापन प्रणाली एफडब्लूसीएमएसमा सीमित म्यानपावर कम्पनी छनोट गरिएको विषयमा अनुसन्धान भइरहेको छ। यसैक्रममा वैदेशिक रोजगार विभागले सम्बन्धित कम्पनीका नाममा जारी हुने पूर्वश्रमस्वीकृति रोकिसकेको छ।
मलेसियाको छनोट प्रक्रियाप्रति नेपाल सरकारले असहमति जनाउँदै सीमित कम्पनीमार्फत मात्रै श्रमिक भर्ना गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरे पनि यस विषयमा समाधान हुन सकेको छैन। वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका व्यवसायीलाई कानुनी प्रक्रियामा ल्याउन विभागले पछिल्लो सूचना जारी गरेको हो। तोकिएको समयभित्र सम्पर्कमा नआउने व्यक्तिविरुद्ध थप कानुनी कदम चालिने विभागले स्पष्ट पारेको छ।








