२०८३ कात्तिक १० , मंगलबार

साउनयता चार सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा



काठमाडौं। चालु आर्थिक वर्ष सुरु भएयता चार सचिवसहित ४६४ जना निजामती कर्मचारीले पदबाट राजीनामा दिएका छन्।

राष्ट्रिय किताबखाना ९निजामती० का अनुसार गत साउन १ गतेदेखि कात्तिक १० गतेसम्म राजपत्राङ्कित र राजपत्र अनङ्कित गरी ४६४ कर्मचारीले राजीनामा दिएका हुन्। किताबखानाका निर्देशक तथा सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठका अनुसार राजीनामा दिनेमा २०७ जना राजपत्राङ्कित र २५७ जना राजपत्र अनङ्कित कर्मचारी रहेका छन्।

राजपत्राङ्किततर्फ चार सचिव, ३३ सहसचिव, ७२ उपसचिव र ९८ शाखा अधिकृतले राजीनामा दिएका छन्। त्यस्तै, राजपत्र अनङ्किततर्फ १३७ जना खरदार तथा नायब सुब्बा तहका कर्मचारी र १२० जना श्रेणीविहीन कर्मचारीले पद छाडेका छन्। सरकारले प्रतिनिधि सभामा दर्ता गरेको निजामती कर्मचारी विधेयकमा प्रस्ताव गरिएको व्यवस्थाका कारण कर्मचारीले राजीनामा दिएको बताइएको छ।

विधेयकमा व्यवस्था भएअनुसार कार्यान्वयनमा आउने समयमा पहिलोपटक ३० वर्ष सेवा अवधि पूरा गरेका वा ५५ वर्ष उमेर पुगेका कर्मचारीले राजीनामा दिनुपर्ने प्रावधान राखिएको छ। यद्यपि, राजीनामा दिने कर्मचारीले आफ्नो राजीनामा पत्रमा घरायसी कारण उल्लेख गरेको किताबखानाले जनाएको छ। किताबखानाका अनुसार राजीनामा दिएका सबै कर्मचारीको राजीनामा सरकारले स्वीकृत गरिसकेको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १० गते मंगलबार