काठमाडौं। यस वर्षको तिहारमा देशभर करिब ५१ लाख ८० हजार फूलका माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० का अनुसार तिहारका पाँच दिनमा फूलका मालाबाट मात्रै करिब ४८ करोड रुपैयाँ बराबरको कारोबार हुने प्रक्षेपण गरिएको छ।
मालासँगै सजावटका लागि प्रयोग हुने फूलका थुँगा र गमलासमेत जोड्दा यस वर्ष तिहारमा पुष्प व्यवसायको कुल कारोबार ६४ करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान छ। फ्यानका अनुसार यस वर्ष सबैभन्दा बढी ४५ लाख सयपत्रीका माला खपत हुनेछन्। प्रतिमाला औसत ९० रुपैयाँका दरले यसको कारोबार ४० करोड ५० लाख रुपैयाँ पुग्नेछ।
त्यस्तै, औसत ४५ रुपैयाँका दरले मखमली फूलका ६ लाख मालाबाट दुई करोड ७० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ। गोदावरीका २० हजार माला र विभिन्न फूल मिसाएर तयार गरिएका ६० हजार मालाबाट क्रमशः दुई करोड ४० लाख रुपैयाँ बराबरको कारोबार हुने प्रक्षेपण गरिएको छ। मालाबाहेक ३५ लाख सयपत्रीका थुँगाबाट १० करोड ५० लाख रुपैयाँ र आठ लाख गोदावरीका गमलाबाट छ करोड रुपैयाँ बराबरको कारोबार हुने एसोसिएसनले जनाएको छ।
नेपालमा पछिल्ला वर्षहरूमा फूलखेतीको व्यावसायिक उत्पादन र बजार विस्तार हुँदै गएको छ। फ्यानका अनुसार देशका सातै प्रदेशका विभिन्न जिल्लामा २२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती भइरहेको छ। काठमाडौं उपत्यकासहित धादिङ, चितवन, काभ्रे, मकवानपुर, झापा, इलाम, मोरङ, सुनसरी, रुपन्देही, कास्की, बाँके, दाङ, कैलालीलगायत जिल्लामा फूलखेती हुँदै आएको छ।
व्यावसायिक उत्पादन बढेसँगै कृषकको आम्दानी वृद्धि हुनुका साथै विदेशी फूलमाथिको निर्भरता घटाउन पनि सहयोग पुगेको एसोसिएसनले जनाएको छ। नेपाल मखमली फूलको उत्पादनमा आत्मनिर्भर बनेको फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले बताएका छन्। उनका अनुसार यस वर्ष मखमली फूलका छ लाख मालाको माग रहेकामा चार लाख माला स्वदेशमै खपत हुने र करिब दुई लाख माला विदेश निर्यात हुने अनुमान छ।
काठमाडौंको इचङ्गुनारायण, भक्तपुरको गुन्डु, ललितपुरको गोदावरी–बडिखेल तथा धादिङ, पाल्पा, कैलाली र इलामलगायत क्षेत्रमा मखमली फूलको व्यावसायिक उत्पादन हुँदै आएको छ। स्वदेशी उत्पादनले आन्तरिक माग पूरा गर्नुका साथै निर्यातको अवसरसमेत सिर्जना गरेको छ। गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण सयपत्री फूलखेतीमा क्षति पुगेपछि यस वर्ष मागअनुसार आपूर्ति व्यवस्थापन गर्न चुनौती देखिएको छ।
गत वर्ष ४० लाख माला खपत भएकामा यस वर्ष सयपत्री मालाको माग बढेर ४५ लाख पुगेको छ। एसोसिएसनका अनुसार आन्तरिक उत्पादनबाट करिब ४० लाख माला आपूर्ति हुने र बाँकी करिब ११।११ प्रतिशत माग धान्न आयात गर्नुपर्ने अवस्था छ। फ्यानले स्वदेशी फूलको प्रयोगलाई प्राथमिकता दिन उपभोक्ता तथा व्यापारीलाई आग्रह गरेको छ। फूल उत्पादन हुने क्षेत्रबाट बजारसम्म सहज ढुवानी तथा उचित मूल्य निर्धारणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि एसोसिएसनले जनाएको छ। फ्यानका अध्यक्ष श्रेष्ठले तिहारमा स्वदेशी फूल प्रयोग गर्दा नेपाली कृषक तथा पुष्प व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने बताए। उनका अनुसार स्वदेशी उत्पादनको प्रयोगले रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवर्द्धन र मुलुकलाई आत्मनिर्भर बनाउन सहयोग पुर्याउनेछ।








